इनरुवा । सरकारले मासिक रुपमा पारिश्रमिक दिएपनि इनरुवा नगरपालिकामा कार्यरत केही कर्मचारीले कार्यालय बाहिर खाएको खाजाको बिल नगरपालिकाबाट भुक्तानी लिने गरेको फेला परेको छ ।
नगरपालिकामा स्थायी दरवन्दीमा कार्यरत रहेका कर्मचारीले सामान्य चिया नास्ता पसलबाट एक वर्षसम्म भन्दा लामो समयदेखि व्यक्तिगत रुपमा खाएको रकमको उधारो नतिरी बिल नगरपालिकाबाट भुक्तानी लिने गरेको पाइएको हो ।
पसल व्यवयासी सुशिलादेवी साहले कर्मचारीलाई पटक–पटक उधारो रकम तिर्न बुझाउँन ताकेता गर्दा नदिएर अन्ततः कर्मचारीले नै कार्यालयमा निवेदनसहित बिल पेश गर्न लगाएको तर अहिलेसम्म पनि रकम भुक्तानी नदिएको गुनासो गरिन ।
उधारो रकम उठाउन लागि सुशिलादेवी साहले २०७९ असार १२ गते इनरुवा नगरपालिका कार्यालयमा ५३ हजार ३ सय ४५ रुपैयाँ भुक्तानीको दावीसहित निवेदन दिएकी थिइन । उक्त निवेदनमा सम्बन्धित फाँटका कर्मचारीले लेखा फाँटमा सिफारिस गरेको निवेदनमा उल्लेख गरिएको छ ।
फाँटवालाले १९ हजार १ सय ६५ रुपैयाँको बिल भुक्तानी गर्न निवेदनमा ‘श्रीमान लेखा फाँट प्रमुख ज्यु निवेदकको बिल भर्पाइअनुसारको भुक्तानीका लागि अनुरोध छ’ भन्ने व्यहोरा उल्लेख गरि हस्ताक्षर र मिति लेखिएको छ ।
सो निवेदनमा कार्यालय प्रमुखले ‘श्री आर्थिक प्रशासन शाखा’ भन्ने तोक आदेश दिएका छन । कार्यालयले २०७९ असार १२ गते ७४६२ दर्ता नम्बरमा निबेदन दर्ता गरेको पाइएको छ ।
यससँगै चिया पसले सुशिलादेवी साहले नगरपालिका कार्यालयमा २०७८ फागुन २५ गते पेश गरेको निवेदन दर्ता नम्बर ६२०० रहेको छ । उक्त निवेदनमा ३४ हजार १ सय ८० रुपैयाँ रकमको बिल भुक्तानीका लागि पेशगरि माग गरेपछि सम्बन्धित फाँटवालाले सोहीबमोजिमको व्यहोरा उल्लेख गरि लेखा फाँटलाई भुक्तानीका लागि सिफारिस गर्नुकासाथै कार्यालय प्रमुखलेसमेत आर्थिक प्रशासन फाँटलाई तोक आदेश दिएको निवेदनमा उल्लेख छ ।
सो निवेदनमा भनिएको छ, ‘श्रीमान प्रमुख प्रशासकिय अधिकृत ज्यु इनरुवा नगरपालिका कार्यालय बिषय भुक्तानी पाउ बारे । प्रस्तुत बिषयमा त्यहाँ कार्यालयबाट माग गरिए बमोजिम यस पसलबाट खाजा पानीलगायतका बस्तुहरु उपलब्ध गराए बमोजिमको सम्लग्न बिलबमोजिमको रकम भुक्तानी पाउँ ।’
इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले कार्यालयका कर्मचारीले कार्यालय प्रयोजनसँग सम्बन्धित भन्दा बाहिरको पसलमा व्यक्तिगत रुपमा आएको चिया, नास्ता, खैनी, गुट्खा पानलगायतका वस्तुको रकम नगरपालिकाबाट लिनका लागि बिल पेश गर्ने गरेको आफुले फेला पारेको बताए ।
उनले कर्मचारीले व्यक्तिगत रुपमा अनावश्यक फजुल खर्च गरि विभिन्न बहानाबाजीमा नगरपालिका कार्यालयमा फर्जी बिल पेश गरेर रकम भुक्तानी लिने गरेको पाइएपछि त्यस खाले भुक्तानी रोक्का गरेको बताए ।
मेयर भण्डारीले भने, ‘यो सानो उदाहरण मात्रै भएकाले योभन्दा ठुला–ठुला रकम भुक्तानीका लागि फर्जी बिल बनाएर कार्यालयबाट भुक्तानी लिने गरेको जानकारी आएपछि फायल अध्ययन गर्दा धेरै वेथिती र विकृती नगरपालिकाभित्र फेला पारेकाले यस्ता अनावश्यक र आधारहिन खर्च कुनैपनि हालतमा भुक्तानी नदिन म प्रतिबद्ध छु ।’
उनले कार्यालयभित्र धेरै खाले समस्या रहेकाले क्रमशः सुधार गरि सुशासनको प्रत्याभुति हुने गरि काम गरेर नगरवासीलाई देखाउने विश्वास ब्यक्त गरे । साभार बर्णमाला न्युज