धरानः कोविड महामारीले अब कहिल्यै फर्कदैन भन्ने लागेको धरानको रौनकका दिनहरु फर्किएको अनुभव गरिएको छ । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवा आउने तयारीमा देखिएको चहल पहल, ठाउँ ठाउँमा ट्राफिक जामका विच सर्वसाधारणले कोरोनाकाल विर्सिए । धरान उत्सवको उद्घाटन अघि विद्यार्थीहरु, आदिबासी जनजातिका झांकीहरु सहितको जुलुस बजार परिक्रमा गर्दा धरानमा कोरोना अघिका रौनकका दिनहरु फर्किएको अनुभव गराएको हो ।
प्रधानमन्त्री देउवाले धरान विविध जातिको सांस्कृतिक विशेषता भएको शहर भएकाले धरान उत्सवको आयोजनाबाट नयाँ उत्साह ल्याउने विश्वास व्यक्त गरेर धरान पुरानै लयमा फर्किएको अनुभूति धरानबासीलाई गराए । उनले कोरोनाको कुरा गरेनन् । धरानको विकासमा थप योजना ल्याउने बताउँदै धरानलाई शैक्षिक हबको रुपमा विकास गर्न यहाँ स्थित केन्द्रिय प्रविधि क्याम्पस, इञ्जिनीयरिङ क्याम्पस, पिण्डश्वर विद्यापीठ, महेन्द्र क्याम्पसको स्तरवृद्धि गरिने बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छानबिनको प्रतिवेदनहरु अनुसार आवश्यक कार्वाही लाई सरकारले चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता पनि उनले प्रकट गरे ।
विकासको १२१ सौं वर्षको क्रममा रहेको धरान केन्द्रिय सरकारबाट विभेदमा पर्दै आएको चर्चा गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश प्रमुख परशुराम खापुङ, संघीय सांसद जयकुमार राई, कांग्रेस सहमहामन्त्री भीष्मराज आङदम्बेले लगायतले प्रधानमन्त्री संग राष्ट्रिय गौरवका योजना ल्याउन ध्यानाकर्षण गराए । सयवर्ष नाघेको शहरको नयाँ पहिचान बन्दै जानुपर्नेमा राज्यले ओझेलमा परेको हुँदा धरान भएको पहिचान समेत गुमाउने अवस्थामा रहेका उनिहरुको भनाई थियो ।
मेयर तिलक राईले धरान उत्सव धरान हिजो जेजस्तो भएपनि आज कस्तो छ भन्ने देखाउन आयोजना गरिएको बताउँदै भने ‘धरान अहिले जे जस्तो अवस्थामा छ, त्यस्लाई धरानबासीकै सहभागीतामा देखाउन उत्सव अयोजना गरिएको हो, धरानमा नभएको र ठूलो कुरा देखाउने उत्सवको उदेश्य होइन् ।’ उत्सवले धरानबासीमा धरानको विकासमा अझ केही गर्नुपर्छ भन्ने अनुभूति दिलाउन सके उत्सव सफल हुने उनको भनाई थियो । उपमेयर मञ्जु भण्डारीले धरानको विकासका गतिविधिमा प्रकाश परेकी थिइन् ।
उत्सवस्थलमा आउनु अघि प्रधानमन्त्री देउवा विकास कार्यको अवलोकन, उद्घाटनस्थलमा जाने आउने क्रममा भएको चहल पहलले सर्वसाधारणमा धरान उत्सवप्रति चासो बढाएको छ । धरान नगरपालिका र नगर पञ्चायतको नेतृत्व गरेका दिवंगत प्रमुख, कार्यवाहकहरुलाई प्रधानमन्त्रीले मरणोपरान्त सम्मापत्र गरियो । यस्ले उत्सवमा इतिहासलाई नयाँ पुस्तासंंग जोड्ने काम गरेको छ । नाम समेत विर्सिएका र नयाँ पुस्ताले थाहा नपाएका दिवंगत प्रमुख तथा कार्यवाहकहरुमा केदारनाथ खनाल, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद श्रष्ठ, गोबिन्द मोक्तान, इन्द्रप्रसाद श्रेष्ठ तथा ध्यानबहादुर राई, तारा सुब्बाको सम्मान गरिएको हो ।
धरानका बारेमा पुराना कुराको सम्झना नयाँ कुराको चर्चा सहित शुरु भएको ३ दिने उत्सवमा धरानको रौनकका दिनहरु फर्काउन आदिबासी जनजातिका परम्परगत मादक पेय ‘तिनपाने’ उत्पादन प्रविधि सहित प्रत्यक्ष प्रदर्शन स्टल समेत राखिएको छ । धरानको कालो बंगुर, विजयपुरको ललिपप देखी खानपानका थुप्रै स्टलहरु छन् । फुलहरुको फ्लोरिकल्चरको स्टलहरुमा ग्राहकहरुको भीड देखिन्छ । स्वास्थ्य सेवा देखी व्यापारीक स्टलहरुमा उपभोक्ता, दर्शकको चहल पहलले धरानबासी कोरोना विर्सिएर पुरानै लयमा फर्किको देखिन्छ । साँझको सांस्कृतिक कार्यक्रमले यसमा थप उत्साह बढाउने निश्चित छ ।