ओपनर कुशल भुर्तेलले शतक बनाउनुका साथै दीपेन्द्रसिंह ऐरीसँग १७१ रनको साझेदारी गरेपछि नेपालले शनिबार आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा फिलिपिन्सलाई १३६ रनले हराएको छ ।
मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीमा फिलिपिन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनायो । २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।
नेपालको यो लगातार दोस्रो जित हो । नेपालले पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको थियो । जितसँगै ४ अंक जोडेको नेपाल समूह ‘बी’को शीर्ष स्थानमा छ । समान २ अंक जोडेका क्याडना र ओमान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लगातार दोस्रो खेलमा पराजित फिलिपिन्स पुछारमा छ ।
आज क्यानडाले ओमानलाई हराएको भए नेपालले सेमिफाइनलमा स्थान पक्का गर्ने थियो । तर, ओमानले आज क्यानडालाई ९ विकेटले हराएपछि नेपालले अन्तिम खेलसम्म कुर्नु परेको हो । नेपालले अब अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने भएको छ ।