टी–२० विश्वकप छनोटमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।
शुक्रबार ओमानको मस्टकस्थित अल अमरेतमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमा सीमित हुनुपर्यो ।
नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेसँगै नेपालले ओमानसँगको पहिलो खेलमा सानदार जित दर्ता गर्न सफल भएको थियो । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले २/२, जितेन्द्र मुखिया र आविनाष बोहोराले एक/एक विकेट लिएका थिए ।
ओमानतर्फ नसिम खुशीले सबैभन्दा धेरै २४ रन बनाएका थिए । उनलाई नेपालका सन्दीप लामिछानेले आउट गरेका थिए । खेलबाट बाहिरिनुअघि खुशीले २ छक्का र एक चौका प्रहार गर्न सफल भए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका खवर अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई तथा फैज बट, जिसन मक्सुदले एक–एक विकेट लिए । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।