ओलावाले ओलडिपो अफिजको गोल मद्दतमा नेपाल आयल निगम मनाङ–मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले नेपाल आइस हिमालयन शेर्पामाथि १–० को जित निकाल्दै लिगमा लगातार दोस्रो जित आत्मसात गरेको हो । खेलको तेस्रो मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा ओलावाले ओलाडिपो अफिजको हेडर पोस्ट नजिकैबाट बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो ।
४१औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पा अग्रता लिनबाट चुक्यो । त्यसमै रिवाउन्डमा अलरिच सिवेको हेडरलाई दिनेश राजवंशीले गोललाइनबाट बचाउँदै मनाङको संकट टारे । ५५औं दयानन्द सिंहको क्रसमा मिनेटम एडेलाजा सोमिडेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
७१औं मिनेटमा नाकाकुरा रियोको क्रसमा पिस्टोन मुताम्बाले पेनाल्टी बक्सभित्र बललाई नियन्त्रणमा लिदै गरेको प्रहार आकासिदा शेर्पाले अग्रता लिने अवसर खेर फाल्यो । ८३औं मिनेटमा निशान लिम्बुको क्रसमा दिपक राईको फ्रि हेडरलाई गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए ।
लगत्तै ८४औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुले फ्लिक गरेको बललाई अनमार्क रहेका ओलावालेले जाली चुमाए । त्यसपछि थप गोल निस्कन नसक्दा मनाङ विजयी हुन सफल भयो ।
जितपछि मनाङ दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको शेर्पाको दुई खेलबाट १ अंक छ । मनाङले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दा शेर्पाले संकटासँग १–१ गोलको बराबरी खेलेको थियो ।
लिगमा आइतबार एक मात्र खेलमा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच दिउँसो ४ः४५ बजे प्रतिस्पर्धा हुनेछ। साभार / (हाम्रो खेलकुद)