राष्टिय जागृती क्लब र धरान फुटबल क्लब जारी सुनसरी जिल्ला स्तरिय ए डिभिजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन ।
लिग अन्तर्गत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलहरुमा जित निकाल्दै समुह ख बाट समुह बिजेता र उपबिजेता बन्दै दुबै क्लब सेमिफाइनल प्रवेश गरेका हुन ।
यो संगै जिल्ला लिगको सेमिफाइनल समिकरण समेत पुरा भएको छ । अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहिबार पहिलो खेल खेल्दा सोही दिन राष्टिय जागृती क्लबले धरानको गोधुली फुटबल क्लबसंग दोस्रो खेलमा प्रतिष्पर्धा गर्नेछ ।
इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा राष्टिय जागृती क्लबले लगातार तेस्रो जीत निकाल्नेक्रममा धरानको टेम्के क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थान सहित सेमिफाइनल प्रवेश गरेको हो । उसको जितमा म्यान अफ द म्याच निकेष तामांगले खेलको २१ औं मिनेटमा गोल गर्दा स्मित तामांगले २५ औं मिनेटमा गोल गरे ।
मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै समुह उपबिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक–एक गोल गरे । जीमीले खेलको १९ औ र मास्केले २९ औं मिनेटमा गोल गरेका थिए । उक्त खेलको म्यान अफ द म्याच रिवश मास्के घोषित भए ।
उनलाई प्रेष युनियन सुनसरीका सचिव बिबेक भटराई र समाजसेवी तीर्थ पराजुलीले नगद १ हजार ५ सय र मेडल प्रदान गरे । अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पौष २५ गते हुनेछ ।