अर्काको देशको सीमा रक्षाको लागि ज्यान दाउमा राख्नुपर्ने कस्तो विवसता हो मेरो। अफ्ट्यारो परिस्थितिमा म अगाडी हुनुपर्ने, सहज र खुसीको प्रहरमा पछाडी।
पहिरोमा परेको ढुंगा जस्तै, औचित्यहिन। सन् १९६२ नोभेम्बर महिना हुनुपर्छ सिनो-इण्डियन युद्ध जसमा म भारतको तर्फबाट लडिरहेको थिएँ ।
आखिर के का लागि? जवाफ थिएन म सँग।हिउँले छोपिएको थियो अक्साइ क्षेत्र ।लगातार भिडन्त भएको ४८ घण्टा भन्दा बढी भइसकेको थियो।चीनियाँ फौज हामीभन्दा शक्तिशाली थियो।
अत्याधुनिक हतियारको प्रयोगले भारतीय फौज निरिह देखिन्थ्यो।आत्मशमर्पण गर्नु नेहरु ज्यूको मात्र होइन स्वतन्त्र भारतकै लागि लज्जाको विषय थियो।
युद्धविराम हुनु अघिको अन्तिम गोलि हुनुपर्छ। मेरो देब्रे छातिलाई निसाना बनायो।त्यो पछिको घटना मेरा मानसपटलमा छैनन्। होसमा आउँदा म हिउँको खोँचमा थिएँ। तीन चौथाई शरीर हिउँले पुरिएको। भारतीय फौजले मेरो मुटुको आवाज सुन्न सकेन। सबैलाई आ-आफ्नै ज्यान जोगाउनु थियो ।
मेरो स्वासको वतासले छुन सकेन। म भित्र शिर उठाउन सक्ने शक्ति थिएन। म स्वास फेरिरहेको ढुंगा थिएँ । मुटु चलिरहेको हिउँको थुप्रो। हिउँचितुवाको पाइला महशुस गर्न सक्थेँ।पृथ्वीकै बुद्धिमान प्राणीको शक्ति संघर्षमा परि ज्यान गुमाएका आफन्त खोज्न निस्केको हुनुपर्छ।म भगवान पुकार्छु मेरो हातबाट उसको परिवारको ज्यान गएको नहोस्। पक्कैपनि उ म भन्दा बढी भोकाएको हुनुपर्छ। आफन्त गुमाएको पीडामा छ।मलाई भेटाएपनि उसले सिकार बनाउदैन। उ मानिस जति निर्दयी हुन सक्दैन।
कति असह्य हुँदो रहेछ मृत्यु पर्खन। हृदयको धड्कनले मेरी आमालाई पुकार्दै छ। “अर्को पल्ट छुट्टिमा आउँदा बिहे गर्नुपर्छ है छोरा, एक घुड्की पानी खान नपाएर मर्छु जस्तो हुन्छ कहिलेकाहिँ”। मैले आमालाई खुसी कहिले पो दिन सकेँ र। बा खेतमा हलो जोत्दाजोत्दै चट्याङ्ग लागेर विते। सायद बाले स्वर्गबाट भन्दै होलान् “तँ र म फेरी सँगै हुनेछौं केटा, पिर नगरेस”।म सोच्छु स्वर्ग जाने काम के पो गरेँ मैले।
म जस्तै कति निर्दोषमाथि तातो गोली बर्षाएर बहादुरी देखाएँ।महापापी हुँ म।त्यही पापको प्रतिफल भोग्दैछु म।
पछाडीबाट पाईला चलेको आवाज आयो। म झस्किएँ। मुन्टो बटार्न खोजेँ बल पुगेन।”व डे टियाना” आवाज सहित एक चीनियाँ फौजी मेरो आँखामा आइन्।के के भन्दैथिइन् केहि पनि बुझ्न सकिन मैले। हिउँ पन्छाइन् हात समाएर उठाउन खोजिन् सकिनन्।घिसारेर हिउँ नभएको ठाउँमा ल्याइन्। कुहिरोभित्र हराएका दृष्य आँखामा संहाल्दै म मुडो जस्तो लडिरहेँ।पारिलो घामले न्यानो अनुभूति गरायो।पीडाको छटपटि केहि शान्त भयो।
“दिरेन.. दिरेन..” भनि बोलाउँदै थिइन्।ति शब्दको अर्थ नबुझेपनि तिनि मलाई उर्जा दिदैथिन्। मबाट कुनै आवाज निस्कन सकेन। मुस्कुराउन सकिन। शरीरमा उनका हात सलबलाईरहेको महशुस भयो।केहि औषधि लगाउँदै थिइन्। मनतातो पानी पाएपछि पेटले कहि आराम महशुस गर्यो । गहिरो निन्द्रामा डुबेँ।
छाति चर्किएर दुख्यो। मुटु झिके जस्तै।सास रोकिए जस्तै भयो। सम्हाल्लिन सकिन। सायद बेहोस भएँ।
सम्झनामा केहि आएनन्।सपना झैँ आएका सम्झनाको बयान कसरी गरूँ।यात्रा झैँ लाग्छ। तिनै फौजीको काखलाई शिरानी बनाएर सुतेको थिएँ। निधारमा प्रेम स्पर्श महशुस गर्छु। नबुझिने शब्दहरुको खैलाबैला थियो। रेलको यात्रा हुनुपर्छ।
होसमा आउँदा म हस्पिटलको बेडमा थिएँ। ति फौजी मेरो छेउमा बसेकी थिइन्। केहि भन्दैथिन्। चिनियाँ लवजमा। अंग्रेजी हो वा चिनियाँ तेस्रो चोटिमा बुझेँ हाउ आर यु भनेकी रहेछिन्।म मुस्कुराएँछु। उनको मुहारमा अलौकिक खुसी देखियो। आँखै अगाडी तारा झरेझैँ। मोतिदाना टल्केझैं। उनको मुहारको त्यो चमकले म मा पुनः जीवनको ज्योति दिलायो। बाँच्ने आसा जगायो।शरीरमा नयाँ उर्जा थपियो।
उनको नाम मेइ रहेछ।त्यसको अर्थ अत्यन्तै सुन्दरी। फुल जस्तै। रुप र मन दुबैमा सुन्दरी । उनको घरमा पनि मेरो जस्तै उनि र आमा मात्रै रहेछन्। चीनीयाँ शैलीको सानो घर।दिदि बहिनी जस्तो लाग्ने आमा छोरी। दुबैमा उस्तै मिठास।चीनको गान्सु प्रान्तको जिनझौ नगरमा रहेछ उनको घर।सुन्दर ठाउँ। मैले राम्रोसँग प्रकृतिलाई नदेखेको धेरै भइसकेको रहेछ।नवजात बालकले पहिलोचोटि संसार देखेजस्तै अनुभूति भयो। यसै आँखा रसाएछन्।
मेरी आमालाई सम्झिएँ। मैले यस धर्तिमा पुनर्जन्म लिएर आएको छु। वास्तवमा मलाई पुनर्जन्म दिने आमा हुन् मेइ।
मेइले केहि लेख्न भनिन्, बषौंपछि मैले कलम समाएको थिएँ नेपालीमै लेखेँ, उनले बुझिनन्।
“आज लुनार क्यालेण्डर अनुसार महिनाको चौथो दिन त्यसैले शुभ दिन। मेइले मन्दिर जाने प्रस्ताव गरिन्। म आफै नुहाएर फ्रेस भएँ आफै लुगा लगाएँ।त्यो पनि मेरो र मेइको लागि खुसीको कुरा थियो। म गोली लागेर ढलेको दुई महिना पश्चात आफै नुहाउन सक्ने भएको थिएँ।यो दुई महिनामा मेइले मेरो लागि गरेको दुख र संघर्ष म कल्पना समेत गर्न सक्दिन। ताइहाओ प्यालेस अर्थात फुजी टेम्पल यहाँको ऐतिहासिक महत्वको क्षेत्र रहेछ।
ग्रेट सिल्क रोडको इतिहास हेर्न सकिने वास्तुकला, बौद्ध स्तुपाहरु र मंगोल संस्कृतिले मेरो जीवनको अनुभूतिलाई पृथ्वी भन्दा अलग्गै संसारमा पुर्याएको अनुभुति गरायो।उनको मनपर्ने परिकार जाओसी, आफैले बनाइन्।पहिलो गाँस उनलै खुवाइन्। उनको मुहारमा अद्भुत खुसी देखिन्छ। उनी यस्तै कुरामा खुसी हुन सक्छिन्।”
उनले चीनियाँ भाषा सिकाइन् थोरै भएपनि बुझ्न र बोल्न सक्ने भएको थिएँ।उनले आफ्ना जीवनका भोगाइहरु सुनाइन। उनको आमाको संघर्षको कथा सुनाइन। कम्युनिष्ट आन्दोलनमा बुबाले ज्यान गुमाएको 2 महिना पछि जन्मेकि। त्यही प्रेरणाले उ चीनियाँ फौजमा भर्ती भएकी। आफ्ना केहि असफल प्रेमको कहानी सुनाइन्। मन परेको फिल्मको कथा सुनाइन्।आफ्ना बाल्यकालदेखिका तस्विरहरु देखाइन्।उनको मनपर्ने पोशाक चोङ्गसाम, त्यसमा उ परिजस्ती देखिन्थी। चोङ्गसाम लगाएर नाच्न खुब मनपर्थ्यो उसलाई।
उनी पेनसिल स्केच बनाउँथिन्। उनको कोठाका भित्तामा उनले कोरेका स्केचहरु फ्रेमिङ्ग गरेर झुन्ड्याइएका थिए। उनले अन्तिममा झुन्ड्याएको स्केचमा म थिएँ। अनि मेरो छेउमा उनी थिइन्। कुनै प्रेमकथाका पात्र जस्तै देखिन्थ्यो। उनकी आमाले मुस्कुराउँदै भनेकि थिइन् लियांग शान्बो र झु यिंगताई को जोडि जस्तै देखियो। तर मेइ निरास भएकि थिइन्। उनको हँसिलो मुहारमा एकैपटक कालो बादल लागे जस्तो भयो। भरर्खरै फक्रिएको फुल एक्कासी ओइलाएजस्ती भइन्। वास्तवमा लियांग शान्बो र झु यिंगताई असफल प्रेम कथाका पात्रहरु थिए। रोमियो जुलिएट जस्तै।मैले मेइसँगको प्रेमको भविष्यको बारेमा कहिल्यै सोचिन।के होला हाम्रो सम्बन्ध? कस्तो प्रेम हो हाम्रो? कहिलेसम्म यसरी नै रहन सक्छौं हामी? जवाफ थिएनन्।
विहानै हामी फुजी टेम्पल गयौं। उनले खै के मागिन् तर मैले उनको मुहारमा खुसी मागेँ।उनको हँसिलो मुहारमा सारा ब्रम्हाण्ड मुस्कुराए जस्तो लाग्थ्यो।हावा खुसीले नाच्दै हिडिरहेजस्तो।पानीको कलकल आवाजमा मुस्कान मिसिएजस्तो।मुटु छुने सिरेटोमा पनि उनकै स्पर्ष जस्तो लाग्थ्यो।उनले मेरो लागि चाङ्गसान ल्याइदेकी थिइन्। त्यसमा मलाई राजकुमार जस्तै देखियो रे।उनले चोङ्गसाम र मैले चाङ्गसान लगाएका थियौं। हामी भगवानले बनाएको जोडि जस्तै देखिन्थ्यौं।राजारानी जस्तै। मैले चीनियाँ अक्षरहरु लेख्न सिकेको थिएँ। सिआन को भित्तामा आफ्नो मनको कुरा लेख्नुपर्थ्यो। मैले 我 爱 你 梅 (आई लभ यु मेइ) लेखेँ। उनले कस्सिएर अंगालो हालिन्। मानौ हावाले उडाएर लैजादैछ मलाई। ढाडमा सुम्सुम्याइन्।निधारमा चुमिन्। मैले दुबै हातले उनको गालामा समाएर आँखामा हेरेँ। आँसु टिलपिल भरिएको थियो। प्रेमले मुटु भक्कानियो। छातिमा टाँसे। धेरैबेर पृथ्वी स्थिर रह्यो।
विहानै चीनियाँ इन्भेष्टिगेसन विभागको गाडी घर अगाडी रोकियो। केहि उम्केला वा विलाउला झैं गरी अनुसन्धान टोली घरभित्र छिर्यो। युद्धको समयमा दुस्मनलाई सहयोग गरेको आरोपमा मेइलाई सेवाबाट निलम्बन गरिएको पत्र हातमा थमाइयो र मलाई अनुसन्धानको लागि भन्दै गाडीमा हालियो। हामी केहि बोल्न सकेनौं। मैले मेइको अनुहारमा हेर्ने हिम्मत गर्न सकिन।पन्ध्र दिन चीनियाँ अनुसन्धान विभागको हिरासतमा बस्दा मेइसँगको पलपलको सम्झनाले छटपटि बनायो।गोली लागेको भन्दा असह्य पीडा महशुस भयो। म प्रत्येक पल मेइको प्रतिक्षामा थिएँ। पक्कै उनी मलाई भेट्न आउनेछिन्।आफ्नै हातले बनाएको तातोतातो जाओसी लिएर आउनेछिन्। उनको मुस्कानले मनको सबै पीडा भुलाइदिनेछ। म हरेक दिन उनको बाटो हेरिरहेँ तर उनि आइनन्। के तेस्तो निष्ठुरी छिन् मेइ? यत्तिका दिनसम्म मलाई एकपटकपनि सम्झिनन्? मलाई भेट्न मन लागेन उनलाई? के चीनियाँ माया पनि चीनियाँ सामाज जस्तै कमसल हुन्छ? छ महिना सम्मको सहयात्रा छिनभरमै विर्सिन सकिन् मेइले? मरिसकेको मान्छेमा स्वास भरेर मारिन् मेइले।
अनुसन्धान सकियो। चीनको लागि नेपालको राजदुत रहेछन् केशर बहादुर कार्की। उनिसामु मलाई लगियो र घर फर्काउने आदेश दिइयो। मेइलाई पुनर्बहाली गरियो कि गरिएन, के सजाय तोकियो मैले केही थाहा पाइन।म अन्तिम पटक मेइलाई भेट्न चाहन्थेँ।पुज्न चाहन्थेँ। अन्तिम पटक उनलाई अंगालो हालेर रुन चाहन्थेँ। चीनको सम्झना आँसु बनाएर यहीँ पोख्न चाहन्थेँ। मेइ पक्कैपनि आउनेछिन्। मलाई उनको चिनो छोडेर जानेछिन्। भोलि विहान नेपाल प्रस्थान गर्नुअघि उनले हात समाएर मुस्कान सहित मलाई विदाई गर्नेछिन्।
मेइले मेरो विश्वासलाई धोका दिन सकिनन्।
रातो चोङ्गसाम लगाएर आइन् मेइ। बाटुलो अनुहार, कालो अनि केहि साना आँखा, छुँदा दाग लाग्ला जस्ता त्वचा, सिल्की कपाल। उनको सौन्दर्यतामा चन्द्रमाले समेत इर्ष्या गर्दोहो।जीउ छोडेर अंगालो हालिन् मलाई। भक्कानिएर रोइन उनी। छोरामान्छे रुनु हुँदैन भनिन्छ तरपनि आँसु रोक्न सकिन मैले। मलाई भेट्न नेपाल आउने बाचा गरिन्। घरपुगेपछि चिठि पठाउनु भनेर कागजमा आफ्नो ठेगाना लेखेर दिइन्। ताईहाओ प्यालेसमा खिचिएका हाम्रो फोटोहरु, मायाको चिनो, चाङ्गसान, मेरो आमाको लागि केही चुराहरु, बाटोमा खान आफैले बनाएको कोङ् यु विङ्ग सहित एउटा ब्याग थमाइन्।
म रेलमा चढेँ विदाईको अन्तिम हात हल्लाईन्। कसैले चिच्याएको आवाज आयो। निन्द्रमा डुबेको रहेछु। झसङ्ग भएर विउझिएँ।राजदुतावासको भाई रहेछ। रेल छुट्नेबेला भयो भनेर उठाएको रहेछ।
मेरा आँखाहरु अझैपनि मेइको प्रतिक्षामा छन्। सपनी यथार्थतामा परिणत हुनेमा विश्वस्त छन्। मेरो मनले यहीँबाट भागेर मेइलाई भेट्न जा भन्दैछ। तर त्यो हिम्मत गर्न सक्दिन म। रेलभित्र बसेँ। मेइ कतैबाट दौडेर आइरहेकिछिन् भन्ने आभाष भइरह्यो। केहि समय पर्खन पाए उ आइपुग्थी। रेलले समेत मेरो विश्वासलाई जीवन्तता दिन सकेन। नदौडियोस् भन्दाभन्दै रेलले गति लियो। क्षितिज सँगै छुट्यो जिनझौ नगर। धमिलिए आसाका किरणहरु।
लेखक /कपिल कोइराला