नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरु भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार सोमबार रातिबाट न्यून चापीय प्रणालीको आंशिक प्रभाव पर्न थालेको हो।
रातिदेखि अलिअलि बादल छ, खासै त्यस्तो ठूलो प्रभाव होइन, उच्च पहाडी भूभागमा हल्का हिमपात मात्र हुने हो, नभए आंशिक बदलीको अवस्था हो, काठमाडौंको आकाशमा पनि हल्का बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही प्रदेश १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपात ह्ने सम्भावना छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
रातिचाहिँ पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। तराईका भूभागममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुनसमेत सबैमा अनुरोध छ।