धरानः च्याब्रुङ केलाङ र यालाङ धाननाच जति प्रचिन बन्दै गएको छ, उतिनै लिम्बु याक्थुङ समुदायमा यस्को लोकप्रियता बढेको छ । नेपालको मौलिक संस्कृतिमा अग्रस्थान राख्ने यी दुवै नृत्यप्रति पछिल्लो समय लिम्बुनीहरुमा आकर्षण बढेको पाइन्छ । चासौक तङनामको अवसरमा आज सोमवार आयोजित च्याब्रुङ प्रतियोगीतामा देखिएको भिडले यस्को पुष्टि गरेको हो । धाननाचमा पालाम कथ्न जान्नु पर्दछ, च्याब्रुङमा पयरको स्टेप र हातको संकेत जान्नु पर्दछ ।
लिम्बु समुदायमा मौलिक संस्कृति नयाँ पुस्ताले विर्सदै गएको भनि चिन्ता गरीएता पनि प्रौढ पुस्ताको अनुसरण गर्दै यस्लाई जीवन्त राख्नमा लिम्बुनीहरु अगाडि रहेको देखिएको हो । च्याब्रुङ प्रतियोगीता हेर्न आएका ६० प्रतिशत सहभागीहरु किशोरी देखी प्रौढ लिम्बुनी देखिए । उनिहरु कुनै कन्सर्टमा आएका जस्तो थिएनन् । परम्परागत लिम्बुनी पहिरनमा सुनका गहनाले भरिपूर्ण भई सहभागी भएका थिए । चलनमा हराई सकेको ढुङग्री–झुम्के बुलाकी देखी शिरमा सूर्याकार साम्याङ फुङ सहित सबै गहना लगाउनेहरुको ठूलै संख्या थियो ।
चुम्लुङका जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले भने ‘सबैले लगाएको गहना जम्मा गर्ने हो भने बिस किलो सुन हुनसक्छ ।’ च्याब्रुङ टोलीमा सहभागी किशोरीहरु समेत सुनका गहनामा सुशज्जीत थिए । लिम्बुनीहरु सुनका गहना प्रिय हुन्छन् । उनिहरु अन्य समयमा सामान्य पहिरनमा देखिएपनि विवाह, चाडपर्व, शुभकार्य तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदा परिम्परागत पहिरन संगै सुनका गहना लगाउछन् । उनका अनुसार यो उहिले देखीको पुरानो चलन हो । विवाहीत लिम्बुनीहरुमा रहेको यो परम्परा पछिल्लो समय आधुनिक किशोरीहरुले पनि पछ्याउन थालेका छन् ।
च्याब्रुङको तालमा यसरी लिम्बुनीहरु आकर्षित हुनमा त्यो संगीतको बातावरणले धाननाचलाई उत्प्रेरित गर्ने मुख्य कारण हो कि भन्ने अनुमान गरिन्छ । आज च्याब्रुङ प्रतियोगीता अन्तिमतिर आउनु अघिनै छेउछाउ ससाना समुह धान नाचमा रमाइरहेको देखिए । पहाडतिर मेलापातमा देखीने धाननाचको झझल्को यस्ले दिएको मञ्चमा आसन ग्रहण गरेका लिम्बु सांस्कृतिक परिषदका केन्द्रिय सचिव महेश्वर हुक्पाचोङबाले बताए । यस्तो बातावरणबाट प्रभावित भई प्रमुख अतिथि रहेका केन्द्रिय उपाध्यक्ष कुमार हुक्पाचोङबाङ नृत्यका लागि तिनजुरे च्याब्रुङ समुहको अगुवाई गर्न मैदानमा आफै उत्रिए ।
परिषदको सुनसरी जिल्ला समितिव्दारा आयोजित प्रतियोगीतामा जिल्लामा रहेका १४ च्याब्रुङ समुह मध्ये १२ टोली विच प्रतिस्पर्धा भएको हो । जिल्ला अध्यक्ष चन्द्र योङहाङको सभापतित्वमा भएको प्रतियोगीतामा केन्द्रिय उपाध्यक्ष कुमार हुक्पाचोङबाङले भने ‘थुमगत र थरगत रुपमा च्याब्रुङ नृत्यको शैली आआफ्नै विशिष्ठता हुन्छ ।’ यस कारण प्रतियोगीतामा प्रतिस्पर्धाको मुल्याङकन गर्न कठिनाई हुने भएकाले नतिजा गोलाप्रथाव्दारा निकालिदै आएको छ । पुरस्कारको रकम कुल रकमलाई भागवण्डा गरी प्रदान गरिदै आएको बताए ।
यसपालीको प्रतियोगीतामा प्रथमस्थान हासिल गर्दै सिन्धोलुङ नावाखेम्सीङ केलाङ समुहले रनिङ शिल्ड हासिल गरेका छ । दोश्रो स्थान फङफङदेन याक्थुङ केलाङ समुहले प्राप्त गरेको छ । इटहरी स्थित सेन्छेलुङ केलाङ समुहले तेश्रो रनिङ शिल्डा प्राप्त गरेको छ । प्रतियोगीतामा सबैभन्दा सानो उमेरमा समुहमा सहभागी भएका चौबिसे सांस्कृतिक समुहका ९ वर्षिय बसन्त राईलाई आयोजक समितिले २५०० रुपया प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।