मोरङ । आफूलाई कमिशन दिने फार्मेसीमा बिरामीलाई औषधि किन्न बाध्य पार्ने चार जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका–५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलिप साह र विराटनगर महानगरपालिका–१२ बस्ने ३९ वर्षीय शिवकुमार कामत छन् ।
उपचारका लागि विराटनगर आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिशन दिने फार्मेसीमा औषधि किन्न वाध्य गराई सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
उनीहरु उपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।