इटहरी उपमहानगरपालिका १३ खनारमा कोठाभाडामा बस्दै आएका २६ वर्षीय रिजन दाहालको हत्यामा संलग्न रहेका मुख्य अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका ६ स्थित डल्लेपुल घर भएका धनबहादुर तामाङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
रिजनको हत्या गरी भारतर्फ फरार भएका अभियुक्त तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार राति भारतबाट पक्राउ गरी नेपाल ल्याएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
मोरङको बुढीगंगा गाउँपालिका ६, कोयलपुरमा रिजनको गत कात्तिक २८ गते राति हत्या भएको थियो ।
खनारकै रिलायन्स धागो उद्योगमा काम गर्दै आएका दाहालको कोयलपुरकै २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी ११ का २२ वर्षीय राजु तामाङ लगायत छ सात जनाको समूहसँग विवादपछि दाहालको खुकुरी प्रहारबाट हत्या भएको हो ।