वराहक्षेत्र नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिहान कार्यकक्ष प्रवेश गर्नुभन्दा अगाडि लाइनमा बसेर राष्ट्रिय गान गाउने गरेका छन् ।
सामूहिक सहभागितामा राष्ट्रिय गान गाउनु यहाँ अनिवार्य गरिएको छ ।
वराहक्षेत्र नगरपालिका प्रशासनले राष्ट्र प्रति सम्मान जनाउँन नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई सामूहिक राष्ट्रिय गानमा सहभागी गराएको हो । कार्यालय प्रवेश गर्ने निर्धारित समयमा कार्यालय पोसाकसहित कर्मचारी राष्ट्रिय गानमा उपस्थित हुनुपर्ने भएको छ ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले भन्नुभयो “कार्यालयको नियमित कामकाजसँगै नागरिकहरुको सेवा प्रवाहप्रति थप जिमेवारी बनाउन कार्यलय प्रवेशअघि अनिवार्य कर्मचारीहरुलाई राष्ट्रगानमा सहभागी हुनुपर्ने नियम लागु गर्दै आएका छाैं ।”
प्रमुख प्रशासकीय अधिकृत सिटौलाका अनुसार कर्मचारीहरुलाई समयमै कार्यालय प्रवेश गर्न यो नियम लागु गरिएको हो । सेवाग्राहीहरुको कामलाई छिटोछरितो बनाउन नगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रगानमा सहभागी हुनुपर्ने नियम बनाइएको हो ।
सिटौलाले भन्नुभयो “अहिले ९० जना कर्मचारी छौँ । सबै एकै समयमा आउँदा नागरिकको सेवामा समेत सहज हुन्छ ।” नगरको वडाहरुमा रहेका कर्मचारीहरुलाई पनि पत्राचार गरेर कार्यालय प्रवेशअघि राष्ट्रिय गानमा सहभागी गराँछाैं ।
नगरप्रमुख रमेश कार्कीले भन्नुभयो “कर्मचारीहरुले यो राम्रो सुरुवात गर्नुभएको छ । यसलाई निरन्तरता दिनुस् र जिम्मेवार भएर नागरिकको सेवामा लाग्न भनेको छु । आफनो देशप्रति सम्मान जनाउनु राम्रो हो ।” वराहक्षेत्र नगरका ११ वटै वडामा २ सय ५० भन्दा बढी कर्मचारी छन् ।