धरानका मेयर हर्क साम्पाङलाई छिमेकीको खुल्ला पत्र :
अादरणिय धरानका नगर प्रमुख हर्क साम्पाङ ज्यू,
बिहानै चियाको चुस्की संगै तपाईंका १/२ वटा फेसबुके प्रतिक्रियाहरू (स्टाटस) पढ्ने अवसर मिल्यो । सर्वप्रथमत: बराहक्षेत्र नगरपालिका र त्यसका नगर प्रमुखलाई लक्षित गरि लेखिएको तपाईंको फेसबुकबाट सार्वजनिक अभिव्यक्तिको घोर निन्दा तथा भत्सर्ना गर्दछु ।
तपाईं स्वतन्त्र हुनुहुन्छ, तपाईंका अभिव्यक्ति स्वतन्त्र छन् यसको अर्थ तपाईंले अरूको स्वतन्त्रता, अधिकार र कार्यक्षेत्र माथि धावा बोल्न पाउनुहुन्छ भन्ने छैन । कहिले बराहक्षेत्रको पर्यटकीय क्षेत्र (अमाहा सिमसार) ‘धरानको रहेछ’ भन्ने तपाईंका उप-प्रमुखको भनाइ त कहिले बराहक्षेत्रको भु-भाग अाफ्नो स्वार्थका निमित्त जथाभावी प्रयोग गरिरहेको तपाईंको कदम, जुन बराहक्षेत्रबासीहरूलाई स्वीकार्य छैन ।
मेयर साब,
बराहक्षेत्रको भूमि बिना बुझ तपाईंले प्रयोग गर्ने अधिकार तपाईंलाई कसले दियो ?
पानी धरानलाई चाहिने, धराने स्वार्थका लागि बराहक्षेत्रले अाफ्नो भूमि उपयोग गर्न दिनुपर्ने त्यो पनि बिना निर्णय, बिना सहमति, बिना सहकार्य । अनि अाफ्नो नगरभित्र संचालित जथाभावी काम रोक्दा तपाईंले धम्कीपूर्ण भाषाशैली प्रयोग गर्ने र बराहक्षेत्रले तपाईंसंग सहकार्य गर्न अाउनुपर्ने तपाईंको बुझाइको स्तर कति हो ? यस खानेपानीका सवालमा सहकार्य, सहमति र सम्झौताका लागि पहल धरानले बराहक्षेत्रसंग गर्ने कि बराहक्षेत्रले धरानसंग ?
तपाईंका धम्कीपूर्ण स्टाटसले डराएर बराहक्षेत्रले अाफ्नो भूमिको जथाभावी प्रयोग गर्न दिइनुपर्छ भन्ने तपाईंको बौद्धिकता कहाँ सम्मको हो ?
तपाईंको नगर उपमहानगर होला, बराहक्षेत्र नगरपालिका मात्रै हो । तथापि सबै स्थानीय सरकारलाई कानुनले दिएको अधिकार समान छ । कानुनी राज्यमा तपाईंका मुद्दा मामिलाका धम्की र प्रतिक्रियाले डराएर कोही दुलोमा पस्छ भन्ने तपाईंको बुझाइ छ भनें त्यसलाई अाजैबाट हटाइदिनु होला ।
अाफु समान अधिकार प्राप्त स्थानीय सरकारलाई मुद्दाका धम्की र पञ्चायती मिचाहा, हेपाहा शैली अपनाउँदा बराहक्षेत्रले सहेर बस्छ भन्ने तपाईंको अात्माविश्वास छ भने कृपया त्यो भुल नगर्नुहोला ।
जसरी धराने जनता धरानको विकासका लागि तपाईंको साथमा छन्, त्यसरी नै वराहक्षेत्रको विकास र अाफ्नो क्षेत्रको संरक्षणका सवालमा बराहक्षेत्रका जनता पनि बराहक्षेत्रका मेयरको साथमा छन् । धरान र बराहक्षेत्र बिच भाइचाराको सम्बन्धलाई तपाईंको नेतृत्वले खराब सम्बन्धका रूपमा स्थापित नगराअोस् ।
अन्त्यमा, यस प्रकारको हेपाहा, मिचाहा, पञ्चे र मण्डलले शैली त्यागेर धरानको बिकास र हितका लागि बराहक्षेत्रसंग सहकार्य गर्न अाउनुहोस् बराहक्षेत्र सदैब तपाईंलाई सहयोग गर्न तयार छ । तर अागामी दिनमा पनि यस्तै हैकमवादी र अहमतावादी शैली रहिरह्यो भने छिमेकीले मात्रै होइन धरानेले नै तपाईंमाथि प्रश्न नउठाउलान् भन्न सकिन्न ।
जय बराहक्षेत्र !
उही तपाईंको शुभेच्छुक
तपाईंको छिमेकी
(बराहक्षेत्र निवासी सन्तोष चौलागाईंको फेसबुक वालबाट)