सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले स्वर्ण महोत्सव बिहीबार १२ गतेदेखि मनाउने भएको छ ।
विद्यालय स्थापनाको ५०औँ बर्ष पुगेको अवसरमा वियालयले अभिभावक दिवस तथा स्वर्ण जयन्ती माघ १२ देखि १९ गतेसम्म भब्यताको साथ मनाउने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
माघ १२ गते सरस्वती पूजा तथा एकाह पुराण पाठ परायण गरि स्वर्ण जयन्तीको विधिवत आरम्भ गर्दै माघ १९ गते विविध कार्यक्रमको आयोजना गरि स्वर्ण स्मारकको उद्घाटन गरिने विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले जानकारी दिए ।
१२ गतेदेखि सञ्चालन गरिने कार्यक्रमको सुभाराम्भ बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कपिल आचार्यबाट गरिने भएको छ ।
स्वर्ण महोत्सव अन्तर्गत माघ १३ देखि १९ गतेसम्म दैनिक बिहान ५ बजे देखि साडे ६ बजेसम्म पतान्जली योग गुरु टीका प्रसाद खतिवडाबाट योग शिबिर सञ्चालन हुनेछ। धुमधामसँग गर्न लागिएको समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक सबैलाई समेटेर योग शिविर गरिने भएको छ । १३ गते योग शिविर उद्घाटन हुनेछ भने १४ गते तित्रीगाछि म्याराथुन ५ किलोमिटरको दौड प्रतियोगिता सञ्चालन हुनेछ ।
साथै अन्तर मावि स्तरीय विज्ञान प्रदर्शनी, १५ गते रक्तदान कार्यक्रम, अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता, १६ गते आँखा शिविर तथा अन्तर मावि भलिवल प्रतियोगिता, १७ गते स्वास्थ्य शिविर एबम् अन्तर मावि लोक नृत्य प्रतियोगिता,१८ गते पूर्व विद्यार्थी-शिक्षक पुनर्मिलन, साहित्य गोष्ठी, पत्रकार सम्मान, जेष्ठ नागरिक सम्मान, १९ गते स्वर्ण महोत्सव उद्घाटन तथा दाताहरु सम्मान र झाँकी तथा सांस्कृतिक कार्यक्रम गरि भव्यताकासाथ मनाउन लागेको मूलसमारोह समितिका संयोजक परशुराम आचार्यले जानकारी दिए । स्वर्ण महोत्सव कार्यक्रमको लागि अनुमानित ५२ लाख जति खर्च हुने अनुमान गरिएको संयोजक आचार्यले बताए ।
उक्त खर्च व्यवस्थापनकालागि भने कोशि गाउँपालिका, हरिनगर गाउँपालिका, बराहक्षेत्र नगरपालिका, स्थानिय वडा तथा चन्दादाताहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको र केहि दाताले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष आचार्यले बताए । विद्यालयले स्वर्ण महोत्सवको लागि बनाएको स्मारक निर्माणको लागि कोशी गाउँपालिकाले सहयोग गरेको छ ।
कार्यक्रमको लागि स्टेज निर्माण, स्मारक निर्माण तथा मैदानमा ब्लक ओछ्याउने काम लगभग पूरा भएको प्रधानाध्यापक फिरोज घिमिरेले जानकारी दिए । प्रधानाध्यापक घिमिरेले वि.सं.२०२९ सालमा स्थापना भएको विद्यालयले स्वर्ण महोत्सव आयोजना गरि विविध कार्यक्रम गर्न लाग्दा हर्षित भएको बताउँदै आम अभिभावक तथा विद्यालयलाई माया गर्नेहरुको साथ र सहयोगले गर्दा विद्यालयले एकपछि अर्को सफलता प्राप्त गर्दै आइरहेको बताए ।
विद्यालयको स्वर्ण महोत्सव भव्यतापूर्वक सफल बनाउन सबैले साथ र सहयोग गर्दिन उनले अनुरोध समेत गरे ।
पछिल्लो समयमा सामुदायिक विद्यालयको अवस्था खस्किदै गइरहदा यो विद्यालयमा भने विद्यार्थीको आकर्षण बढ्दो छ । राम्रो व्यवस्थापन र टीम वर्कमा काम गर्दा सफलता मिल्छ भन्ने यसले समाजमा सन्देश समेत दिएको छ ।