धरानः स्थानिय चुनाव नजिकिदै जाँदा दल परिवर्तनको लहर शुरु भएको छ । यसैक्रममा जनता समाजवादी पार्टीका धरान कमिटी सदस्य अरुण लिम्बु सहित ४१ जना मंगलवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसको १६ नम्बर वडा समितिव्दारा आयोजित पार्टी सुदृडिकरण तथा टोल कमिटी गठन भेलामा जसपा परित्याग गरेको घोषणा गर्दै लिम्बुको नेतृत्वमा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनिहरुलाई कांग्रेस प्रदेश १ महामन्त्री उमेश थापा, नगर सभापति श्याम पोखरेल, जिल्ला सचिव माधव घिसिङ, लगायतले खदा लगाएर स्वागत गरे ।
प्रदेश महामन्त्री थापाले कांग्रेस वैशाख ३० गते हुने स्थानीय चुनावमा होमीएको बताए । उनले एमसीसीका सकारात्मक कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउँदै एमसिसि परियोजना संसारका धेरै देशमा लागू भएको र यो परियोजना नेपालीको हितमा रहेको बताए । ‘
जिल्ला सचिव माधव घिसिङले कम्यूनिष्टहरुले राष्ट्र र जनताको हित विपरित काम गरेको कारण आम जनताहरुको नेपाली कांग्रेस प्रति विश्वास बढ्दै गएको बताए । कांग्रेस नगर सभापति श्याम पोखरेलले धरानका सबै वडाहरुमा कांग्रेसको संगठन विस्तार भैरहेको बताउँदै पार्टीलाई मर्यादित र अनुशासित बनाउन सबै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।