कोरोना भाइरसको तेस्रो भेरिएन्ट फेलिएसँगै पछिल्लो एक सातायता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा सात जना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान ५ बजे झापा बुद्धशान्ति-३ बस्ने ७० वर्षीय एक वृद्धको मृत्यु भएसँगै कोभिड भएर मृत्यु हुनेको संख्या सात जना पुगेको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलका अनुसार कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु हुनेमा सुनसरीका चार जना, मोरङ, झापा र सप्तरीका एक/एक जना रहेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा झापा र सप्तरीका दुई जनाको मृत्यु भएको हो । मृत्यु भएकामध्ये तीन जनाले कोभिडविरुद्धको खोप लगाएका थिए ।
प्रतिष्ठानस्थित माइक्रोबायोलोजी विभागका एडिसनल प्रा.डा. नारायण भट्टराईले कोरोनाको ओमिक्रोन कमजोर भेरिएन्ट भनिए पनि मृत्यु भएका व्यक्तिहरू कुन भेरिएन्टबाट संक्रमित थिए भन्ने तथ्य भने जानकारीमा आउन नसकेको बताए । उनले भने, ‘बीपी प्रतिष्ठानमा ओमिक्रोन भेरिएन्ट सिक्वेन्सीङ गर्ने प्रविधि छैन । हामीले केही नमूना काठमाडौं पठाएका छौं । त्यसपछि मात्र थाहा हुन्छ ।’
प्रतिष्ठानको कोभिड अस्पतालमा हालसम्ममा २ हजार ७ सय ३ जना उपचारका लागि भर्ना गरिएका मध्ये आइतबार बिहानसम्ममा ४ सय ३२ जनाको मृत्यु भएको छ ।
उनले धेरैले खोप लगाएका कारण ओमिक्रोन कमजोर देखिएको हुनसक्ने तर उक्त भेरिएन्टसँगै समुदायमा कोरोनाका डेल्टा भेरिएन्ट पनि रहेकाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, दीर्घ रोगी र वृद्धवृद्धालाई संक्रमण हुनबाट जोगाउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘संक्रमणको दर एकपटक पिकमा पुग्छ । त्यसपछि घट्नेक्रम जारी रहन्छ । अहिले संक्रमण घट्नेक्रममा देखिएको छ । तर समाजमा रोग वा यस्ता भाइरसको संक्रमणदर घट्नासाथ हल्का रुपमा लिने बानीले मृत्युदर घट्न समय लाग्छ । कुनै पनि रोग वा भाइरस त्यो कोरोनाको डेल्टा होस् वा ओमिक्रोन कुनैलाई पनि हल्का रुपमा लिन हुँदैन ।’
यसैबीच धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले पछिल्लो दुई सातामा धरानका मात्र ६ जनाको मृत्यु भएको बताए । उनका अनुसार कोरोनाबाट हालसम्म धरानमा २ सय २७ जनाको मृत्यु भइसकेको बताए ।