धरानः नक्कली मोही खडा गरेर महेन्द्र बहुमुखी क्याम्पसको जग्गा हडप्ने खोज्ने भूमाफिया विरुद्ध नागरिक आन्दोलन शुरु गरिने आज सोमवार पत्रकार सम्मेलन उद्घोष गरिएको छ । पूर्व नगर प्रमुख तथा पूर्व क्याम्पस प्रमुख कुमारबहादुर कार्कीको संयोजकत्वमा गठित नागरिक तहको जग्गा बचाउ समितिले आन्दोलनको घोषणा गरेको हो ।
तिन वर्ष अघिदेखी चर्केको ‘नक्कली मोही काण्ड’मा क्याम्पसले भूमिसूधार मालपोत कार्यालय सुनसरी विरुद्ध कानुनी लडाई गर्न पूनरावेदन अदालतमा मुद्धा दायर गरेको छ । क्याम्पसको जग्गा बचाउन विद्यार्थी संगठनहरुले छुट्टै आन्दोलन गर्दै आएका छन् । नागरिक तहबाट भूमाफियाको भण्डाफोर गर्दै दबाब दिन नागरिक आन्दोलनका लागि समिति गठन गरिएको हो ।
ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सामाजिक दुरी, स्वास्थ्य मापदण्ड कायम गदै समितिले पर्सी ५ गते बुधवार प्लेकार्ड सहित मौन जुलुसको आयोजना गर्दैछ । छाता चौक बाट भानुचौक पुगी उभिएर धर्ना दिने उक्त प्रदर्शन नागरिक आन्दोलनको पहिलो कार्यक्रमको रुपमा सांकेतिक हुने बताइएको छ । भेरियन्टको न्युनिकरण संगै आन्दोलनका थप कार्यक्रम समितिले सार्वजनिक गर्नेछ ।
२०३४ सालमा क्याम्पसले खरिद गरेको पानी ट्याङी चौक धरान–११ स्थित १७ कट्ठा, १८ धुर जग्गामा ४१ वर्षपछि २०७५ मा आएर एकाएक नक्कली मोही खडा गरी भूमाफियाको गिरोहले क्याम्पसको जग्गा हड्प्ने दुष्प्रयास गरिएको पत्रकार सम्मेलनमा संयोजक कार्कीले बताए । उनले भने ‘हामी कुनैपनि हालतमा क्याम्पसको जग्गा हडप्ने प्रयास सफल हुन दिन्नौं ।’
क्याम्पसको जग्गामा कहिल्यै पाइला नटेकेको, प्रमाण पुष्टि नभएको अज्ञात व्यक्तिलाई मोही खडा गरेर भूमाफिया जग्गा दलालका गिरोहले पवित्र शैक्षिक संस्थाको सम्पती माथी कुदृष्टि गाडेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ । भनिएको छ ‘यस्ता कुत्सित कार्यमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न हुने व्यक्ति समुह पहिचान गरी सामाजिक कार्वाहीको दायरामा ल्याउन जरुरी भैसकेको छ ।’
मोही भनिएका डम्बरबहादुर घिमिेरको जग्गा खरिद गरेको २२ वर्षपछि २०५६ सालमा मृत्यु भैसकेको छ । उनको श्रीमतिको पनि २०६४ सालमा मृत्यु भैसकेको छ । मोही भनिएका व्यक्ति जीवित हुँदा कुनै किसिमको हकदाबी नभएको, भोग चलन समेत नभएको अवस्थामा मृत्यु भएको १९ वर्षपछि डम्बरबाहादुरका हकवालाका रुपमा दाबी गर्ने यज्ञबहादुर क्षेत्री विलकुलै प्रायोजित पात्र भएको विज्ञप्तीमा बताइएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘यसको प्रमाणको रुपमा नामसारीको सिफारिसको क्रममा वडा कार्यालयमा आएका दबाबका बारेमा वडाध्यक्षहरुले सार्वजनिक बहसका क्रममा पटक पटक बताई सक्नु भएको छ ।’ भूमि सुधार र मालपोत कार्यालय सुनसरीले शैक्षिक संस्था दशैंको विदामा रहको बेला वदनियतपूर्ण, प्रचलित नेपालको कानुनको बर्खिलाप हुनेगरी अन्य प्रलोभनमा परी दुषित मनशायका साथ भूमाफियाको पक्षमा गरेको फैसाल दुःखद, खेदजनक, गम्भिर त्रुटिपूर्ण भएकोमा आपत्ति प्रकट गरिएको छ ।