विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आगामी माघ २ गते विभिन्न कार्यक्रम गरी देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।
‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो।
यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करिब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो।
छ वर्षअघिको भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण जारी छ । पुनःनिर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे अवधि सकिए पनि पुनःनिर्माण भने सकिएको छैन । सम्बन्धित विभागबाट क्षति पुगेका संरचनाको पुनःनिर्माण जारी छ।
भूकम्पले भवन भत्किएर क्षति नपुगोस् भनी जनचेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक पद्मकुमार मैनालीले पश्चिम नेपालमा ५०० वर्षअघिदेखि ठूलो भूकम्प नगई शक्ति सञ्चय भएकाले त्यस क्षेत्रमा बढी चेतना जगाउन आवश्यक भएकामा जोड दिए।
भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिका संयोजकसमेत रहेका मैनालीले तीनै तहका सरकार मानिसको जीवन रक्षाका लागि जनचेतना जगाउन लागिपरेको बताए। चेतना जगाउने उद्देश्यअनुरूप विसं २०५७ देखि नै विभागले घर निर्माणमा संलग्न हुने प्राविधिकलाई तालिम दिन सुरु गरेको छ।
भूकम्पले भवनमै क्षति पुग्ने र त्यसले मानिसको जीवन लिने भएकाले दिवसका माध्यमबाट चेतना जगाउन विभाग लागिपरेको उपमहानिर्देशक रामचन्द्र दङ्गालले बताए।
दिवसको मूल कार्यक्रम यस वर्ष पाटन दरबार क्षेत्रमा गरिने भएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वले सम्बोधन गर्नेछन्। गत वर्ष भक्तपुर दरबार क्षेत्रमा यो दिवसको कार्यक्रम आयोजना गरिएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भोजराज खतिवडाले सरकारले कोरोनाको नयाँ स्वरूप ओमिक्रोनबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूरा गरेर पाटन दरबार क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले ४० वर्ष अघिदेखिका भूकम्पका अभिलेख रहेको बताइन्। यसको अध्ययन अनुसन्धानबाट काम गरिरहेको उनको भनाई थियो।