नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ भने यतिबेला प्रदेश १ र प्रदेश २ लगायत पहाडी भेगमा सामान्य बदली र बाँकी स्थानमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशमा आंशिक र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।
साथै दिउँसो प्रदेश १, २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली तथा अन्य स्थानमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।