धरानः खानेपानी व्यवस्थापन वोर्डले जिम्मा लिएपनि धरानको खानेपानी आपूर्ति प्रणाली विग्रिएर चुहावट बढ्नै पुरानै रोक पटक पटक दोहोरीने गरेको छ । यस्तो गडबढीको कारण पानी आपूर्ति असन्तुलित हुने गरेको हो । खानेपानी वितरणको पाइप सञ्जालमा हुने गरेको लिकेज मर्मत कार्यमा वोर्ड अध्यक्ष मेयर तिलक राई आफै पुग्ने गरेका छन् ।
तिन दिनअघि चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मूख्य पाइप ट्रंक लाईनमा ठूलै लिकेज पाइएको छ । मेयर राईले आफ्नै अघि लिकेज रोकथाम गर्न मर्मतका काम गराएका छन् । ट्रंक लाईन पुरानो भई फुटेकोले लिकेजको समस्या पाइएको हो । मेयर राईले अहिले पनि खानेपानी प्रणाली परिक्षणकालमा रहेको बताउँदै आएका छन् ।
जंगलको नम्बर १ वेल हाउसको मूख्य ट्रंक लाईनमा स्विच भल्भनै काम नलाग्ने भई बिग्रिएर चुहावट भएको वोर्डले जनाएको छ । चुहावट बन्द गर्न ट्रंक लाईनमा नयाँ स्विच भल्भ राख्ने काम भइरहेको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलले यस्तो लिकेज जंगलको ५ ठाउँमा भएको बताए । लिकेजले २० प्रतिशत सम्म पानी खेर गइरहेको अनुमान गरिएको छ ।
गडबडीकै क्रममा ८ नम्बरको वेल हाउसमा जडान गरेको मोटर एक महिना नबित्दै जलेको छ । ईञ्जिनियर प्रशान्त अधिकारीले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताएका छन् । उनका अनुसार जंगलका वेल हाउसमा अर्थिङ नहुँदा ट्रान्सफर्मरहरु असुरक्षित छन् । ४ वटा वेल हाउसमा अर्थिङ लगाइएको र २ ठाउँमा अर्थिङ लगाउने लागिएको उनले बताए ।