सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् ।
जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखी १९ पुससम्म संचालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखी २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।
थपिएका मध्ये इटहरीमा तीन हजार ६६२, रामधुनीमा एक हजार ६६५, देवानगन्जमा ६६५, बर्जमा ७८१ र भोक्राहानरसिंहमा एक हजार १५० गरी कुल सात हजार ९२३ छन् । पहिलो चरण अन्तर्गतनै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरूमा दुई हजार ४०१ जनाले नामावली दर्ता गराएका छन् ।
त्यस्तै १/१९ पुससम्म भएको दोस्रो चरणमा १२ हजार ३६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीयतह दुहवीमा एक हजार ५९० जना, बराहक्षेत्रमा दुई हजार १५९ जना, कोशीमा एक हजार ३८३ जना र गढीमा एक हजार ४२८ जनाले नामावली दर्ता गराएका हुन् ।दोस्रो चरणको समयअवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत पाँच हजार ८०९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरीमा १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन् ।