नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् ।
अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका तीन महीनाको छोरा इप्सन भट्टराई छन् ।
धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए ।
आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएकाले निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।