सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षयतृतिया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल समिति गठन गरिएको छ ।
शुक्रवार नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको उपस्थितिमा आयोजना भएको भेलाले नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहनशरण देवाचार्यको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की सहअध्यक्ष रहेको मूल समिति गठन गरेको हो ।
भेलामा कोशी प्रदेश सरकारका निमित्त सचिव केदारनाथ शर्मा, प्रदेश सभा सदस्य बिजय राई, ममता तामाङ्ग, रोहित कार्की, रमेश बस्नेत, पुर्व सांसद हरिनाथ बस्तोला, जयकुमार राई, नगर प्रमुख रमेश कार्की, प्रदेश मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका तिनै तहका प्रदेश प्रमुखहरू, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख, जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख, वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, स्थानियवासीहरू, विभिन्न धार्मिक सङ्घ, संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।
चैत्र २७ गते देखि १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत बजेटको व्यवस्थापन, सचिवालय गठन, सहकार्य, समन्वयका लागि लागि पर्ने नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले बताए ।
पूर्ण महाकुम्भ मेलालाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए । प्रचारप्रसार, निमन्त्रणा, उपसमिति गठन, सरसफाइ लगायतका कामलाई प्राथमिकता दिइने नगर प्रमुख कार्कीले बताए ।
कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगदगुरु वालसन्त मोहन शरण बताउँछन् । अमृतको तर नै भेटिएको पिण्डेश्वर स्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख रहेको जगद गुरु वालसन्त मोहन शरणले बताए ।
नेपालमा पहिलो पटक २०५९ सालको चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र ६ गते देखि वैशाख शुक्ल तृतीया सम्म १ महिना चतराधाममा कुम्भ महोत्सव आयोजना भएको थियो । जुन महोत्सव नेपालको इतिहासमा पहिलो कुम्भ मेला थियो ।
चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ ।
चतराधाम कुम्भ नगरीको रूपमा परिचित छ । नेपालको एक मात्र कुम्भ स्थलको रूपमा रहेको चतराधाममा ४ पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् । भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नासिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएका छन् ।