कोसी करिडोर, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, मध्यपहाडी पूष्पलाल राजमार्ग, कोसी जल पर्यटनलगायतका राष्ट्रिय महत्वका परियोजनाको ट्रान्जिट पोइन्टका रुपमा विकास भइरहेको चतराघाटस्थित कोसी पुल कोठुमा करोडौंको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ ।
उदयपुरको बेलका नगरपालिका-८ स्थित कोठुमा निर्माण सम्पन्न भएको ‘होटल कोसी प्यालेस’ ‘कोसी पर्यटन’ लक्षित गरी सञ्चालनमा ल्याइएको छ । कोसीपुल- मैनामैनी- हसनपुर- घोरेटार हुँदै भोजपुर जाने सडकको मुख्यद्वारमा अवस्थित होटलले आन्तरिक तथा बाह्य पर्यटकको बसाइलाई सुविधाजनक बनाउने लक्ष्य राखेको छ ।
कोसी नदीमा जल पर्यटनका लागि आउने आन्तरिक पर्यटक, चतरा हुँदै राजधनी जाने यात्री, पश्चिम नेपाल र राजधानीबाट भीमान- गाईघाट हुँदै ताप्लेजुङको पाथीभरा पुग्ने तीर्थयात्री साथै बङ्गाल, बिहार र तेस्रो मुलुकबाट तीर्थाटनका लागि वराहक्षेत्र आउने पर्यटकका लागि लक्षित गरी सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको सञ्चालक सम्पत राईले जानकारी दिए ।
माघ २७ मा औपचारिक उद्घाटन
डेढ वर्षअघिदेखि निर्माण सुरु गरिएको ‘होटल कोसी प्यालेस’ गत पुस १६ गतेदेखि ‘प्रिओपनिङ’ गरी सञ्चालनमा ल्याइए पनि औपचारिक उद्घाटन भने आगामी माघ २७ गते हुँदैछ ।
भोजपुरको पर्यटनलाई चतरादेखि नै जोड्न लालायित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पर्यटन मन्त्री किरातीले ‘मुन्धुम ट्रेल’लाई चतरादेखि अक्करको बाटो हुँदै भोजपुर जोड्ने प्रतिबद्धता गरिरहेका बेला कोसीपुल मैनामैनी हुँदै भोजपुर जाने पर्यटकका लागि सुविधाजनक होटल समुद्घाटनमा समेत प्रमुख अतिथिका रुपमा उपस्थित हुने भएका हुन् ।
कोसीपुललाई पर्यटकको हबका रुपमा विकास गर्न ठूला लगानीकर्ता आकर्षित हुनु सकारात्मक भएको व्यवसायी रमेश हतुवालीले बताए । उनले ‘कोसी क्षेत्रको पर्यटन’ विकासमा होटल व्यवसायले ठूलो टेवा पुर्याइरहेको र रोजगारी सिर्जना गरिरहेको बताए ।
२ कट्ठा जग्गामा निर्माण भएको होटलमा डेढ वर्षमा सम्पन्न हुँदा सात करोड रुपैयाँ लगानी भएको सञ्चालक सम्पत राईले जानकारी दिए ।
यस्ता छन्, सुविधा र विशेषता
होटल कोसी प्यालेसले विश्वस्तरीय कुजिन र कन्टिनेन्टल स्वाद स्थानीय पारखीहरुमा पस्कने छ । यद्यपि स्थानीय मौलिक खाना र ढावा आइटमलाई यो क्षेत्रमा परिचित गराउने छ ।
‘बाह्य पर्यटकका रुपमा बढीजसो भारतीय पर्यटक यस क्षेत्रमा आउने भएकाले भारतीय परिकारका विभिन्न स्वाद त अवश्य नै पस्कने छौं तर यहाँका स्थनीय मौलिक परिकारलाई समेत परिचित गराउने छौं,’ कोसी प्यालेसका व्यवस्थापक सङ्गीत सिग्देलले भने,’विशेष गरेर यो क्षेत्रमा आएका पाहुनालाई आतिथ्य सत्कारसहितको स्तरीय आवासीय व्यवस्था मिलाउने छौं ।’
होटलमा पर्यटकका लागि तत्काल १५ वटा कोठा उपलब्ध छन् । नन एसी स्ट्यान्डर्ड डबल बेड २ वटा, स्ट्यान्डर्ड ट्रिपल बेड २ वटा, डिलक्स एसी क्विन बेड ४ वटा, सुप्रिम डिलक्स २ वटा, लक्जरी चेम्बर बाथटब अट्याच्ड एउटा र फेमिली रुम एउटा उपलब्ध छन् । प्रतिकोठा प्रतिदिन २ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको वयवस्थापक सिग्देलले जानकारी दिए ।
होटलमा एउटा कन्फेरेन्स हल, २ वटा रेस्टुरेन्ट र किड्सपुलसमेत रहेको सिग्देलले जानकारी दिए ।
‘हामीकहाँ किचन डिपर्टमेन्टमा बीसौं वर्षका अनुभवी सेफ छन्,’ व्यवस्थापक सिग्देलले भने, ‘यो क्षेत्रमै पहिलो पटक कफी मेसिनबाट उत्पादित कफी सर्व गर्दैछौं साथै तन्दुर, नानसमेत पहिलोपटक उपलब्ध गराउदैछौं ।’
फुल अकुपेन्सी, आन्तरिक पर्यटकको आकर्षण बढ्दै
कोसीपुल क्षेत्रमा हाल सञ्चालित होटलहरु भरिभराउ हुन थालेका छन् । होटल, लज तथा रेस्टुराँहरुमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि खचाखच हुन थालेको छ । यही समयमै पिकनिक, सेमिनार तथा तालिमका कार्यक्रमले हलहरुसमेत साता दिनसम्मका लागि बुकिङ हुन थालेको छ ।
स्थानीय मनोरम वातावरण, कोसी नदीको सुन्दर दृश्य, कोसीमा चल्ने जेटबोट र परिकारमा कोसीका माछाको स्वादले समेत आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको सञ्चालकको भनाइ छ ।
धार्मिक पर्यटनसँगै जल पर्यटन, साहसिक पर्यटन र पर्यापर्यटनलाई जोडेर बेलका र वराहक्षेत्रका निजी क्षेत्रले कोसी आसपासमा लगानी गर्न थालेपछि यहाँको आन्तरिक पर्यटकको आवागमन बढेको छ ।
धरान, इटहरी हुँदै पूर्वी पहाड र उत्तर पश्चिम भारतदेखि झापा हुँदै आउने पर्यटकको समेत चहलपहल बढ्न थालेको छ