वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा जुत्ता मोजा वितरण गरेको हो।
संस्थाले प्रत्येक बर्ष आफ्नो कार्यक्षेत्र भित्र पर्ने आधारभुत बिधालयहरुलाई छनोट गरि स्कुललाई आवश्यकता अनुसारको सहयोग गर्दै आएको संस्थाकि अध्यक्ष सीता भण्डारी पौडेलले बताइन ।
यसै क्रममा यसपटक बराहक्षेत्र वडा नं १ स्थित बगुवामा रहेको भगवती आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुलमै एक औपचारिक कार्यक्रम गरि ७४ जना विद्यार्थीहरूलाई न्यानो कपडा (ट्रयाकसुट) तथा जुता मोजा वितरण गरेको पौडेलले बताईन ।
यस अगाडि वर्षहरूमा सहकारीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रेल्वेलाईनमा सडक बत्ती, विद्यालयमा शैक्षिक सामाग्री, खेलकुद प्रतियोगितामा सहयोग, सुरक्षा निकायको कार्यालयमा भौतिक निर्माण, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री लगायत न्यानो कपडा वितरण गरिसेको सहकारीका व्यवस्थापक बाबुराम खत्रीले बताए ।
विद्यालयमा गरिब तथा निम्न आर्थिक अवस्था भएका परिवारका छात्र तथा छात्राहरू अध्ययन गर्ने भएकाले सहकारीले वितरण गरेको न्यानो कपडा (ट्रयाकसुट) तथा जुता मोजाले ठुलो राहत मिलेको र विद्यार्थीहरू नियमित विद्यालय आउने सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक सितादेवी राईले बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं १ का अध्यक्ष किसन मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर थापा , संचालक समिति सदस्य कर्मचारी लगायतको उपस्थित रहेको थियोे ।