निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने दलहरूले १ पुसदेखि १० सम्म दल दर्ता गर्नुपर्ने भएको छ ।
त्यसैगरी, १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । आयोगले दिएको जानकारी अनुसार १९ पुसमा मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ । २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २१ पुसमा उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका तय भएको छ ।
आयोगका अनुसार २२ र २३ पुसमा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
साथै, सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम छ ।