वराहक्षेत्र नगरपालिकाले जरिमाना सहितको बजार अनुगमन सुरु गरेको छ । दशै तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको म्याद नाघेका सामाग्री , मूल्य दिनहुँ जसो उकालो लागेको गुनासो उपभोक्ताबाट आएसँगै वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बिहिवार वडा नं १ स्थित मन्दिर एरियाका बजार र कोशी पुल क्षेत्रका पसलहरूको अनुगमन गरेको थियो।
सो क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु टोलीले नियन्त्रणमा लिएर नष्ट गरिएको थियो । म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना समेत गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्लले बताए ।
अनुगमनका क्रममा दिपा किराना पसल , वराहक्षेत्र होटल , सरोज होटल , प्रियका होटल , होटल बाहुना , हार्डवयर पसलमा म्याद नाघेका सामाग्री फेला परे पनि २ हजारका दरले र अरुण साहको पेडा भण्डारलाई ५ हजार जरिमाना गरिएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताएका छन् ।
दसैँ तिहारलगायतका अन्य चाडपर्वका समयमा बजारमा म्याद नाघेका सामाग्री, कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको बजार अनुगमन समितिकी संयोजक समेत रहेकी उपप्रमुख सुनुवारले बताइन् ।
टोलीले अनुगमनका क्रममा बिल विजक चुस्त दुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिक रूपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्यवस्तु फेला पारेको थियो । साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सबै प्रक्रिया पुर्याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरूलाई सुझाव दिइएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताएका छन् ।
नगर उपप्रमुख सुनुवार नेतृत्वको अनुगमन टोलीमा, निमित्त प्रमुख प्रशासकीय देवेन्द्र बहादुर मल्ल, नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, नेपाल प्रहरी, उपभोक्ता हित मञ्चका प्रतिनिधि, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि , पत्रकार लगाएको सहभागी रहेका थिए।