चितवन राष्ट्रिय निकुञ्जका दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई आज कोशी टप्पु वन्यजन्तु आरक्ष ल्याइदैछ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज अलग अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशी पठाइएको छ । कोशी टप्पुमा पुष्पा र अञ्जलीलाई इन्क्लोजरमा राखिनेछ । कोशी टप्पुमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेश यादवले बताए । पुष्पा र अञ्जलीलाई राख्नका लागि १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ । त्यहाँ पानी र घाँसेमैदान पनि राखिएको छ । सुरक्षा सहितको सेक्युरिटी पोष्टहरु पनि बनाइएको उनले बताए । गैंडा हेर्नका लागि भ्यू पोइन्ट पनि बनाइने यादवले बताए ।पुष्पा र अञ्जली दुवै आमाविहीन भएर टुहुरो बनेका गैंडाका बच्चाहरु हुन् ।
२०७६ पुस ५ गते करिब २ महिनाको पुष्पा नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा भेटिएको थियो । २०७७ को गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रबाट १ महिनाको उमेरमा अञ्जलीको उद्धार गरिएको थियो । दुवै गैंडाका बच्चालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुर्काइएका हुन् ।
मानिसको माया र ममतामा हुर्किएका यी दुवैले मानिसलाई मन पराउँछन् । सौराहा क्षेत्रमा सँगसँगै डुल्ने र हिंड्ने गरेपछि निकुञ्जले गत वैशाख ३१ गते दुवैलाई निकुञ्जको लामिताल क्षेत्रमा छाड्यो ।