बराहक्षेत्र नगर कमिटी, सुनसरी
बिषय :- राजिनामा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा हाम्रो गौरवशाली पार्टी नेकपा एमाले तथा पूर्व माले प्रति आस्था राखी भातृ संगठन अनेरास्ववियु पाँचौको बि.स. २०३७ सालमा सदस्यता प्राप्त गरेको समय देखि सकृय भई निरन्तर लागिरहेको छु । साबिक महेन्द्रनगर गा.बि.स. हुँदा बि.स. २०४३ सालमा वडा नं.१ बाट जनपक्षीय उमेदवार भई सदस्य पदमा बिजय भएको र पार्टी सहसचिब, सचिब पदमा रहि काम गरेको , पार्टीको १४ नम्बर इलाका कमिटी सदस्य, ६ नम्बर क्षेत्रीय कमिटी सचिब, २०६२/६३ को आन्दोलनमा साबिक गा.बि.स.मा ७ दलको तर्फबाट संयोजक बनी आन्दोलनको नेतृत्व गरी माओवादी द्वन्द कालमा अलिकति पनि विचलित नभई सतिसाल झै ठिङ्ग उभिएर पार्टीको पक्षमा अडान राखेको साथै बराहक्षेत्र नगरपालिका भए पश्चात् नगर कमिटी सचिब, बि.स.२०७५ जेठ ३ गते माओवादी संग पार्टी एकीकरण हुँदा सचिब, सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खारेजी पछि पार्टी फुट्दा अध्यक्षको जिम्मा लिई पार्टी फुट्को असरबाट पार्टीलाई बचाएर राखेको , २०७८ साल कार्तिक ९ गते भएको नगर अधिवेशनबाट अध्यक्षमा बिजयी भए पश्चात् पार्टी बिधान सभा सम्पन्न गरेको राष्ट्रिय महाधिवेशनमा कार्यकर्ताहरुलाई सकृय बनाई तोकिएको जनदायीत्व भन्दा बढी कार्यकर्ता तथा शुभेच्छुकहरुलाई महाधिवेशन स्थलमा लैजान सफल भएको, पार्टीले तोकेको प्रतिनिधि छनौट गरी उक्त कार्यक्रममा पठाएको, जिल्ला अधिवेशन सफल बनाउन सहयोग गरेको, पार्टीका भातृ संगठनहरु गठन गरेको, वडा अधिवेशन गरी वडा कमिटी गठन गरेको, पार्टीका सचिवालय तथा पदाधिकारीहरुको पूर्ण बैठक साथै आवश्यकता अनुसार नियमित बैठक बसाइरहेको र यस्ता कार्य सकृयता पूर्वक गर्दै गर्दा पनि,
बैठक संचालनमा विभिन्न समस्याहरु खडा गरी नेतृत्वबाट असहयोग गरेको, स्थानीय प्रदेश र संघको निर्वाचनमा पनि नेतृत्वको अहमताका कारण हामीले पराजय भोग्नु पर्यो । साथै स्थानीय निर्वाचनमा टिकट वितरण गर्दा नगर कमिटी संग सल्लाह सुझाव नलिई इच्छाइएका ब्यक्तिहरुलाई टिकट वितरण गर्ने कार्य गरियो । त्यसैगरी प्रदेश र संघका लागि पनि इच्छाइएका ब्यक्तिहरुलाई सिफारिस गर्ने काम भयो । प्रतिनिधि घोषणा गरे पश्चात् पनि बेवास्ता भयो, पार्टीको पत्रकार सम्मेलनमा एक शब्द पनि राख्न दिइएन । विभिन्न शिर्षकहरुमा कार्यकर्ताहरु संग उठाएको रकमको नगर कमिटीमा कुनै जानकारी दिइएन । यसैगरी पार्टीको विधि, विधान, निति, सिद्धान्त र कमिटीहरुलाई बेवास्ता गरी टपक्क टिपेर इच्छाइएको ब्यक्तिलाई इच्छाइएको पदमा राख्ने, नेतृत्वबाट ब्यक्तिवादी चिन्तन हावीभइ पार्टीलाई गुट्बन्दी गरेको, पार्टीका इमान्दार, निष्ठावान र सकृय कार्यकर्ताहरुलाई यो वा त्यो बहाना गरी क्रमिकरुपमा पाखा लगाउनेकाम गरेको त्यति मात्र नभएर पार्टीबाट निर्णय गरी विभिन्न संघसंस्थाहरुमा पठाइएका प्रतिनिधिहरुले विपक्षीहरुसंग साँठगाँठ गरी पार्टी र नेतृत्वलाई खुइल्याउने गरी सामाजिक सञ्जाल प्रयोग गरी अमर्यादित काम गरेको र यी कुराहरुलाई नेतृत्वहरु संग राख्दा समेत बेवास्ता गरेको हुँदा आफूले पार्टीका काम गर्न असमर्थ भएको कारण आज मिति २०८०/०५/०८ गते अध्यक्ष पदबाट राजिनामा दिएको व्यहोरा अनुरोध छ ।
बराहक्षेत्र नगर भित्र रहनु भएका पार्टी सदस्य, शुभेच्छुक तथा नगर कमिटी, वडा कमिटी, भातृ संगठन कमिटी समक्ष क्षमा चाहन्छु ।
अन्त्यमा , अभिवादन
अध्यक्ष
गजेन्द्र बहादुर थापा
नेकपा एमाले बराहक्षेत्र नगर कमिटी
सुनसरी