विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ। यद्यपि यससँग लड्नका लागि तयार रहनुपर्ने डब्ल्यूएचओको भनाइ छ।
डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था एक वर्षअघिको तुलनामा निकै फरक रहेको बताएकी छिन्। उनले अहिले प्राप्त तथ्यांकअनुसार यो भेरियन्ट निकै संक्रामक रहेको पाइएको बताएकी छन्।
अहिले ओमिक्रोन भेरियन्ट विभिन्न ४० मुलुकमा फैलिसकेको छ। अहिलेसम्म यो भेरियन्टलाई अहिले बजारमा रहेका खोपले काम गर्छ कि गर्दैन भन्ने खुल्न सकेको छैन।
यसअघि दक्षिण अफ्रिकाका केही वैज्ञानिकले ओमिक्रोनले भेरियन्टले कोरोना खोपको प्रभावकारिता पनि कम गर्ने बताएका थिए। यद्यपि यस विषयमा निष्कर्षमा पुग्न थप अध्ययनको आवश्यकता रहेको उनीहरुको भनाइ छ।
डब्ल्यूएचओ इमर्जेन्सिजका निर्देशक माइक रयानले अहिले विश्वभर निकै प्रभावकारी खोप उपलब्ध रहेको बताएका छन्। साथै उनले अहिले विश्वभर यी खोप वितरण गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका छन्।