सुनसरीमा बाह्र स्थानीय तह रहेकोमा बराहक्षेत्र नगपालिका कार्यसम्पादनमा सबैभन्द अग्रभागमा रहेको पाइएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुन १८ गते सर्वजनीक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बराहक्षेत्र सुनसरीकै पहिलो पालिका बनेको हो । सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिका रहेका छन् ।
जसमध्ये बराहक्षेत्र नगरपालिकाले सबैभन्दा बढी ६८ दशमलव ७६ अंक प्राप्त गर्दै पहिलो बनेको हो । सबैभन्दा कम अंक सुनसरीमा बर्जु गाउँपालिको प्राप्त गरेको छ ।
आयोगको प्रतिवेदन अनुसार बर्जुले ४६ दशमलव ११ अंक प्राप्त गरेको छ । यस्तै दोस्रो स्थानमा कोशी गाउँपालिका रहेको छ । आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोशी गाउँपालिकाले ६७ दशमलव १६ अंक प्राप्त गरेको छ ।
यता तेस्रो स्थानमा भोक्राहा नरसिंह गाउँपालिका देखिएको छ । भोक्राहाले ६६ दशमलव ४१ प्राप्त गरेको छ । त्यसपछि क्रमशः गढी गाउँपालिकाले ६५ दशमलव ८४, हरिनगर गाउँपालिकाले ६१ दशमलव ०९ प्रतिशत्, दुहवी नगरपालिकाले ५९ दशमलव ८९, इनरुवा नगरपालिकाले ५६ दशमलव ८५, देवानगञ्ज गाउँपालिकाले ५३ दशमलव ९९, इटहरी उपमहानगरपालिकाले ५३ दशमलव ४४, धरान उपमहानगरपालिकाले ५२ दशमलव ९१, रामधुनी नगरपालिकाले ५१ दशमलव ३६ र बर्जु गाउँपालिकाले सबैभन्दा कम ४६ दशमलव ११ अंक प्राप्त गरेको छ ।
आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेकोलगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अङ्कभार दिएको हो ।
यही तथ्याङ्कको आधारमा बराहक्षेत्र सुनसरीकै पहिलो बनेको हो । ५० भन्दा कम अंक प्राप्त गर्ने पालिकाको सूचीमा सुनसरीको बर्जु गाउँपालिका पनि परेको छ । देशभर यो सूचीमा पर्ने पालिकाको संख्या ९३ रहेको छ । देशभरमा ४२ स्थानीय तहले ७० भन्दा बढी अंक प्राप्त गरेका छन् । यसमा सुनसरीका एउटा पनि पालिका परेका छैनन् ।( साभार कोसि प्रेस अनलाइन )