भूमिगत संगठनका नाममा सार्वजनिकस्थलमा प्रेसर कुकर बम राखेको अभियोगमा झापा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
बिर्तामोड र दमक लगायतका स्थानमा बम पड्काउन खोजेको अभियोगमा एकजना महिलासहित उनीहरु प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा गौरादहका सुमन कार्की र प्रदीप थापा, कनकाई नगरपालिकाका भीष्म थापा र यमदत्त सिटौला, दमककी देवी बास्कोटा, शिवसताक्षीका सरुण लिम्बू, सुन्दरहरैँचा मोरङका मनमोहन दाहाल, झापा गौरीगञ्जका अनन्तप्रसाद गिरी र विजयकुमार दास रहेका छन्।
अभियुक्तले हिमाल सुरक्षा परिषद्का नाममा झापा, मोरङ र सुनसरीमा चन्दा उठाउने, जवरजस्ती असुली गर्ने र बम राख्ने लगायतका काम गर्दै आएको झापा प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय समेतको सहयोगमा उनीहरु समातिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये गौरादहका कार्की घटनाका मुख्य योजनाकार हुन्। वैदेशिक रोजगार मुद्दामा २२ महिना जेल बसेर निस्किएका कार्कीलाई लागूऔषध ब्राउन सुगरको अर्को मुद्दामा प्रहरीले खोजी गरिरहेको थियो। घटनाका अर्का आरोपी लिम्बू लागूऔषध मुद्दामा पाँच वर्ष जेल बसेर निस्किएको प्रहरी अनुसन्धानमा खुलेको छ।
अभियुक्तको समूहले माघ ९ गते झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड र माघ १३ गते दमकको सिवान चर्चमा प्रेसर कुकर बम विष्फोटको प्रयास गरेको थियो।
उनीहरुले भारतीय क्षेत्रमा बसेर योजना बनाउनुका साथै सीमावर्ती क्षेत्रमा आफ्ना गतिविधि गर्ने गरेको पनि प्रहरीले जनाएको छ।