बराहक्षेत्रको सामुदायिक विद्यालयमा नयाँ पिँढीद्वारा लागूऔषध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न
वराहक्षेत्र नगरपालिकामा रहेको माध्यमिक तहको सामुदायिक बिधालयमा बराहक्षेत्रमा रहेको क्रियाशील सामाजिक संस्था नयाँ पिँढीले लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोगमा नयाँ पिँढीले नगरपालिका भित्रका ५ बटा माध्यमिक तहका विद्यालयका बिद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतनाका लागि सैद्धान्तिक रूपमा ज्ञान दिइएको आयोजक नयाँ पिँढीका अध्यक्ष अर्जुन तामाङ (शिशिर)ले बताए ।
नयाँ पिँढीले वराहक्षेत्र-८ स्थित बाघ झोडामा रहेको कोशी माध्यमिक विद्यालय, वराहक्षेत्र-३ भरौलमा रहेको महेन्द्र माध्यमिक विद्यालय, वराहक्षेत्र-६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक विद्यालय, वराहक्षेत्र-१० प्रकाशपुरमा रहेको प्रकाश माध्यमिक विद्यालय र वराहक्षेत्र-११ मधुवनमा रहेको जनता माध्यमिक विद्यालयमा पुगेर लागूऔषध दुर्व्यसनी विरुद्ध सचेतना मूलक कार्यक्रम आयोजना गरिएको थियो ।
हाल लागूऔषध दुव्यसनीहरुको संङख्या समाजमा बढेको र यसले सामाजिक विकृतको रूप लिएकाले यसलाई न्यूनीकरण गर्ने उद्देश्यले सचेतनाका कार्यक्रम आयोजना गरिएको नयाँ पिँढीका अध्यक्ष तामाङले जानकारी दिए । असार ३१ बाट सुरु उक्त सचेतना मूलक कार्यक्रम सोमवार औपचारिक रूपमा समापन गरिएको थियो ।