चतराको तोरिबारी खानेपानीको नयाँ ओभर हेड ट्यांकी उद्घाटन
बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाको वार्ड नं १ स्थित तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १२ घण्टा खानेपानी वितरण गर्न थालेको छ । भर्खरै निर्माण सम्पन्न साढे चार लाख लिटर क्षमताको नयाँ ओभर हेड ट्यांकी मार्फत खानेपानी दिन थालिएको हो ।
ट्यांकीको उद्घाटन बिहीबार प्रमुख अतिथि नगर प्रमुख निलम खनाल र विशिष्ठ अतिथि ईटहरी स्थित खानेपानी तथा ढल व्यवस्थापन डिभिजन प्रमुख प्रदिपलाल कर्णले संयुक्त रुपमा ट्यांकीको गेट भल्भ खोलेर गर्नुभयो ।
नेपाल सरकारको १४ करोड ५० लाख रुपैंयाको अनुदान सहयोगमा चतराको लालबस्ती क्षेत्रमा निर्माण भएको तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बर प्रसाद सिग्देलले बताउनुभयो । नयाँ ट्यांकी रहेको जग्गामा शहिेद स्मृति पार्क स्थापना गरिने र स्थानिय शहिदहरुको सम्भव भए शालिक अथवा शिलालेख स्थापना गरिने अध्यक्ष सिग्देलले बताउनुभयो । सिग्देलले ट्यांकी बनेपछि उपभोक्ताले साविकको ३ घण्टा बाट बढेर दिनभरी पानी पाउने छन् भने थप ५ हजार ग्राहकलाई धान्न सकिने बताउनुभयो ।
हाल भण्डारीटार स्थित २ लाख २५ हजार लिटरको ट्यांकी बाट १२ सय ग्राहकलाई पानी दिईरहेको समितिको टयांकीको संख्या बढेर २ भएको छ, भने स्टोरेज क्षमता करिब ७ लाख लीटर पुगेको छ । यसैगरी चतराको रामानन्दाचार्य सेवापीठमा बनिरहेको अर्को २ लाख ५० हजार लीटरको ट्यांकीको काम अन्तिम चरणमा रहेको समेत सिग्देलले बताउनुभयो ।
हाल १ हजार २ सय किलोमिटर पाइपलाईन मार्फत साविकको वडाहरु १, २, ४, ६ र ३ नं वार्डको केही भागमा पानी वितरण गरिरहेको समितिले सिंहदेवी र उदय चौक, रेल्वेलाईन, चतरा बजार, चतराघाट र बयरबन लगायतको स्थानमा सडकको दुवै किनार बाट थप २ हजार किमी पानीको लाइन विस्तार गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख खनाल र डिभिजन प्रमुख कर्णले तोरीबारी समितिले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गर्दै थप सहयोग गरिने बताउनुभयो
(साभार / न्यु पाटी सन्तोष गुप्ता )