- धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन् । अपरान्ह शुरुभएको कार्यक्रम साँझतिर सकिएपछि राज्यमन्त्री तुम्बाहाङफेले धान नाचेर यसपालीको चासोक तङनामलाई विदाई गरेकी हुन् ।
प्रदेश १ मा पाँच दलिय गठबन्धन सरकारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चबाट राज्यमन्त्री बनेकी तुम्बाहाङफेले सरकारमा रहँदा पनि लिम्बुवानको मुद्धा उठाउँदै आएको बताइन् । उनले भनिन् ‘अरु पार्टीका मन्त्रीहरु जनजातिका चाडपर्व, कार्यक्रमहरुमा सहभागी हुन्छन् तर, सरकारी नीति निर्णयको कुरामा जनजातिका अधिकार बारेमा चुइक्क बोल्दैनन् ।’ आफुले भने नीतिगत विषयमा आदिबासी जनजातिका सवाल, लिम्बुवानका बारेमा प्रष्ट अडान राख्ने गरेको उनले दाबी गरिन् ।
तर सानो पार्टी र एक्लै पर्ने गरेकाले आफुले राखेका कतिपय कुराहरु अल्पमतमा पर्ने गरेको बताउँदै भनिन् ‘बोलेका कुराहरु पुरागर्न निकै कठिन छ ।’ पछिल्लो समय प्रदेश १ मा लिम्बु र मैथिल भाषा सरकारी कामकाजको भाषामा कार्यान्यन गराउन कानुनी प्रकृया शुरु भएको बताउँदै नीति निर्माण गर्न समिति बनेको जानकारी दिइन् । समितिले नीति तयार गरेपछि प्रतिवेदन प्रदेश सरकारको क्याबिनेटमा आउने र अन्य प्रकृया अघि बढ्ने बताइन् । उनले भनिन् ‘यो प्रकृया भाषिक समुदायको निरन्तरको दबाबले अघि बढेको हो, सरकारी कामकाजको भाषामा नयाँ भाषा लीपिलाई कार्यान्वयन चुनौतीको रुपमा आएको छ ।’
आदिबासी जनजातिको उधौली, उभौली पर्व राष्ट्रिय पर्व भएको तर संघीय सरकारले यस्लाई प्रदेशमा मात्र विदा दिने निर्णय गरेर राज्य जनजातिपप्रति अझैपनि अनुदार रहेको बताउँदै उनले भनिन् ‘यो पर्वको विदा पनि सहज रुपमा राज्यले दिएको होइन्, आदिबासी जनजातिका दबाबपूर्ण आन्दोलनबाट प्राप्त भएको हो ।’ मुलुकमा आदिबासी जनजातिहरुका अधिकारमुखी संगठनहरुको दवाब प्रभावकारी आन्दोलनको रुपमा अघि बढेमात्र जनजातिका मुद्धाहरुप्रति राज्यको ध्यानजाने उनले बताइन् ।
चुम्लुङ केन्द्रिय महासचिव निरन्ती तुम्बापोले नयाँ अन्नबाली पाकेर चाडपर्व मनाउन सक्ने अवस्थामा रहेको बेला लिम्बु जातिले परापूर्वकालमा न्वागी पूजाको रुपमा मनाइदै आएको चासोक अहिले लिम्बु जातिको पारम्परीक पर्व बनिसकेको बताइन् । उनले भनिन् ‘चासोक अहिले लिम्बुवानमा मात्र होइन् नेपाल लगायत संसारका जुनसुकै लिम्बुहरु रहेका देशहमा दशैंका विकल्पमा मनाइने थालेको छ ।’ यसको शुरुआत सुनसरीको धरानबाट शुरु भई विकसीत रुप लिएर लिम्बुवानका नवैं जिल्ला लगायत काठमाण्डूमा समेत भव्य रुपमा मनाइने गरिएको बताउँदै चासोक लाई पर्वको रुपमा आत्मसात गर्ने सम्पूर्ण लिम्बु समुदायप्रति उनले शुभकामना प्रकट गरिन् ।
प्रदेश १ का पूर्व प्रदेश प्रमुख प्रा.डा.गोबिन्द तुम्बाहाङले चासोक तङनाम अब लिम्बु समुदायको ठूलो पर्वको रुपमा विकसीत भैसकेको बताए । मौलिक चाडपर्वका विकास संगै नयाँ पुस्तामा लिम्बु भाषा, संस्कृति र संस्कार पनि हस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए । प्राड तुम्बाहाङले भने ‘हामीले आफ्नौ मौलिकता लाई जीवित राख्न लिम्ँबु भाषा प्रयोगमा जोड दिनु पर्दछ ।’ लिम्बु जातिका सहभागीता रहेका कार्यक्रम भेलाहरु लिम्बु भाषामा सञ्चालन गर्नु पर्दछ । त्यसो भएमा आफ्नो भाषा सिक्नै पर्ने वाध्यताको स्थिति आउँछ ।
चुम्लुङका केन्द्रिय सल्लाहकार नरप्रसाद लिम्बुले चासोक तङनाम दशैको विकल्पमा सामुहिक पर्वको रुपमा विकास गरीएको बताए । चुम्लुङको धरानमा सम्पन्न पहिलो बृहत अधिवेशनले निर्णय गरेपछि २०५० सालमा सुनसरी चुम्लुङले पहिलो पटक धरान–१९ स्थित किरातेश्वर माविको परिसारमा ३ दिने चासोक तङनाम आयोजना गरिएको उनले स्मरण गराए । समापन कार्यक्रम चुम्लुङ नगर अध्यक्ष पद्मा लिम्बुको सभापतित्वमा भएको थियो ।