बराहक्षेत्रको चक्रघट्टीमा “चक्रघट्टी टिकटक ग्रुप” निकै चर्चित छ ।
टिकटक मार्फत यो समुहले समाजमा रहेका हरेक कुराहरुलाई सबै सामु ल्याउने गरेको छ ।
कोरोना लक डाउनको समयमा पनि यस समुहले निभेको चुलो बाल्ने अभियान चलाएको थियो । जसमा १ लाख ५० हजार बराबरको खाद्यान्न आर्थिकरुपमा विपन्न परिवारलाई वितरण गरेको थियो ।
फेरि पनि यस समुहले मंगलबार बराहक्षेत्रका ४ वटा विद्यालयका ८ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बसन्तऋतु मा.वि., महेन्द्र मा.वि. तित्रीगाछी, महेन्द्र मा.वि. चक्रघट्टी र भानु आधारभूत विद्यालय आइतबारेका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
यस समुहमा आर.एस. पोल्ट्री सप्लायर्सका संचालक सुशील घिमिरे, महेन्द्र नगर खानेपानी कार्यलयका कर्मचारी भरत घिमिरे, शिक्षक सुमन बिकल, भुवन फेन्सीका संचालक भुवन गिरी, सक्रिय युवा व्यवसायी नवीन श्रेष्ठ र रोयल भाइब डान्स सेन्टरका डान्सर नोबु सरकार सहित ६ जना सदस्यहरु रहेका छन् ।
यस समुहले टिकटकमा आएको गिफ्ट र प्रत्यक्षरुपमा आएको आर्थिक सहयोगलाई विपन्न ब्यक्तिको सेवामा लगाउदै समाजमा उदाहरणीय कार्य गर्दै आएको छ । यस समुहलाई शैक्षिक सामाग्री वितरणका निमित्त बराहक्षेत्र-८ निवासी सञ्जिव आचार्य (हाल कतार ) बाट रु.१३ हजार २ सय ६३ सहयोग प्राप्त भएको थियो । यस समुहले टिकटकमा आएको गिफ्टलाई सदैव समाजसेवामा नै लगाउने बताएको छ ।