बराहक्षेत्र – धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको एक कारबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। कारमा सवार दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
२०८२ साल असार १४ गते साँझ करिब ७:३० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–५, तिनकुनेस्थित सडकखण्डमा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको टाटा नानो (प्र.१–०२–००१ ज ४६३७) नम्बरको सवारीसाधनलाई शंका लागी रोकेर जाँच गरेको थियो।
लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट थप प्रहरी टोली खटाएर कारमा विस्तृत चेकजाँच गर्दा, कालो प्लास्टिकका ६ वटा बोरामा प्याक गरिएको करिब १२० के.जि. गाँजा फेला परेको हो।
प्रहरीले उक्त कारका चालक मोरङ, विराटनगर महानगरपालिका–४, इक्राहीका २६ वर्षीय धिरज गोसाई र सहयात्री मोरङ, जहदा गाउँपालिका–७ का २२ वर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल दुवै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले कोशी क्षेत्रमा लागू औषध तस्करी रोक्न सञ्चालित चेकिङ अभियानलाई अझ सशक्त बनाइएको समेत इलाका प्रमुख दिवस कुवरले बताएको छ।