सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जंगल क्षेत्रमा प्रहरीले अवैध हतियारसहितको कार नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार भित्रबाट एक थान राइफल बरामद गरेको हो भने सवारीमा सवार व्यक्तिहरू भने फरार छन्।
२०८२ साल असार ९ गते राति १२:५० बजे, प्रहरी चौकी भरौलबाट खटिएको टोलीले अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा चेकजाँचका क्रममा धरानबाट कालाबञ्जारतर्फ गइरहेको बा.६ च. ८४०३ नम्बरको कालो रंगको कार रोकेको थियो। तर प्रहरीले देख्नेबित्तिकै कारमा सवार व्यक्तिहरू जंगलतर्फ भागेका थिए।
प्रहरीले उक्त गाडीको चेकजाँच गर्दा बीचको सिटमा “WEBLEY & SCOTT LIT LONDON & BIRMINGHAM, MADE IN ENGLAND” लेखिएको एक थान खाली राइफल (बन्दुकमा राउण्ड नरहेको) फेला परेको हो।
बरामद गरिएको कार र राइफल हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवैध हतियार ओसारपसारको आशंका
प्रहरीले रातको समयमा सुनसान जंगल क्षेत्र हुँदै हतियारसहितको गाडी देखिएको घटनालाई संवेदनशील रूपमा लिएको छ।
यस घटनाले अवैध हतियार ओसारपसार वा आपराधिक गतिविधिमा संलग्न समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरी स्रोतका अनुसार, सुरक्षा सुदृढीकरणका लागि उक्त क्षेत्रको निगरानी अझ कडा बनाइएको छ र सम्बन्धित व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी जारी रहेको कुवरले बताए ।