पुष २२ गतेदेखि कालाबंजर, भरौलमा जारी अन्तराष्ट्रिय आमन्त्रण तेस्रो भरौल भेट्रान गोल्ड कप फुटबल प्रतियोगितामा भोजपुर भेट्रान क्लबले शानदार प्रदर्शन गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ।
भोजपुर भेट्रान क्लबले बराह एघार भेट्रान क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै अगाडि बढेको हो। खेलको पहिलो हाफमा भोजपुरले ३-० को अग्रता लिएको थियो। सुरज श्रेष्ठले खेलको ७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि काजी राईले १६ औं र २७ औं मिनेटमा लगातार दुई गोल गर्दै भोजपुरलाई थप बलियो स्थिति बनाइदिए। दोस्रो हाफमा २६ औं मिनेटमा डेनीम राईले थप गोल गरेपछि भोजपुरको जित सुनिश्चित भयो।
बराह एघार भेट्रान क्लबले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन प्रयास गर्दै भोला ठकुरीले ३ औं मिनेटमा गोल गरे भने यम बहादुर सुब्बाले ३६ औं मिनेटमा गोल गरे तापनि टोली पराजित हुनबाट जोगिन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका भोजपुर भेट्रान क्लबका काजी राईलाई म्यान अफ द म्याच घोषित गरियो। उनले नगद २,१०० रुपैयाँ र मेडल प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि कपिल आचार्यको उपस्थितिमा खेल सम्पन्न भएको थियो। खेल संयोजन बराहक्षेत्र खेलकुद विकास समितिले गरेको हो।
भोलि पुष २३ गते पहिलो क्वाटर फाइनल खेल हुनेछ। पहिलो खेलमा उर्लाबारी भेट्रान क्लब मोरङ र दुधे भेट्रान क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पूर्वेली भेट्रान बिर्तामोड झापा र हाम्रो धरान भेट्रान सुनसरी आमनेसामने हुनेछन्।
स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको प्रतियोगिताले खेलाडीहरूलाई हौसला प्रदान गरेको छ। फुटबलप्रेमीहरूलाई आगामी खेलहरू हेर्नका लागि आयोजकले विशेष आग्रह गरेको छ।