सुनसरीको बराहक्षेत्र ७ मा रहेको महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछिले विभिन्न कार्यक्रमहरु गरि माघ १९ गते स्वर्ण महोत्सवको समापन गर्ने भएको छ ।
विद्यालय स्थापना भएको ५० औँ वर्ष पूरा गरेको उपलक्ष्यमा गतवर्ष साप्ताहिक रूपमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर कोशी प्रदेश प्रमुखबाट उद्घाटन गरि सुरुवात भएको स्वर्ण महोत्सव यहि माघ १९ गते सुनसरी क्षेत्र नम्बर ४ का संघीय सासंद ज्ञानेन्द्र बहादुर कार्किको प्रमुख आथित्यतामा समापन गर्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक फिरोज घिमिरेले जानकारी दिए ।
उनका अनुसार स्वर्ण महोत्सव समापन कार्यक्रम अन्तरगत माघ १५ गतेदेखि १९ गते सम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । जस अनुसार माघ १५ गते बराहक्षेत्र नगर उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आथित्यतामा वर्षभरी विद्यालयमा गरिएका अतिरिक्त क्रियाकलापमा बिजयी भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण सहित कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरुलाई १ लाख ५२ हजार ८ सय रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै माघ १६ गते सामुदायिक विद्यालयतर्फ अन्तर माद्यामिक विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सन्चालन हुनेछ। प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १० हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ हजार , तेस्रो हुनेले ५ हजार र सान्त्वना हुने विद्यालयलाई ३ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
साथै सोही दिन कोशी प्रदेश सरकारको लगानिमा बनेको चिल्ड्रेन पार्क कोशी प्रदेससभा सदस्य ममता योन्जनले उद्घाटन गर्ने कार्यक्रम तय भएको विद्यालयका सूचना अधिकारी रामजी चौधरीले जानकारी दिए ।
स्वर्ण महोत्सव कार्यक्रम अन्तरगत माघ १७ गते अन्तर माध्यमिक विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन गरिने चौधरीले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ७ हजार र दोस्रो हुने विद्यालयले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन। उक्त दिन बराहक्षेत्र नगरपालिकाको सहयोगमा विद्यालयमा निर्मित कार्यक्रम स्टेजको बराहक्षेत्र नगरप्रमुख रमेश कार्किले उदघाटन गर्ने कार्यक्रम रहेको छ । साथै सोही दिन विद्यालयमा नि:शुल्क आँखा तथा दन्त शिबिर संचालन हुने भएकोले सम्पूर्ण नगरबासीले नै आएर लाभ लिन सक्ने विद्यालयका प्रधानाध्यापक घिमिरे बताउँछन् ।
स्वर्ण महोत्सव समापनको अन्तिम दिन माघ १९ गते सुनसरी क्षेत्र नम्बर ४ का संघीय सासंद ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आथित्यतामा सम्पन्न गर्ने कार्यक्रम तय भएको प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।
उनले समापन समारोहका दिन विद्यालयमा बनेको नयाँ ४ कोठे भवनको उद्घाटन सहित विभिन्न जातिका झाँकीहरु प्रदर्शन, विद्यार्थीहरुद्वारा साँस्कृतिक कार्यक्रम, एन सिसि र स्काउटमा आबद्ध विद्यार्थीहरुद्वारा कवज प्रदर्शन तथा स्वर्ण महोत्सवलाई सफल बनाउनको लागि आर्थिक सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए ।
प्राधानध्यापक घिमिरेले गत वर्ष स्वर्ण महोत्सव उद्घाटन गरेदेखि हालसम्म विद्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने सम्पूर्ण अभिभावक, पूर्व विद्यार्थी, अक्षयकोष दाता, संस्थापक सदस्य, समाजसेवी ब्यक्तित्वहरु लगायत सम्पूर्ण नगरवाशीलाई समापन समारोहमा उपस्थित भएर कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सहयोग गर्न समेत आग्रह गरे ।