सुनसरीको एक युवा फिरौती मागेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बराहक्षेत्र-५ रामझोडा बस्ने २९ वर्षीय सन्तोष बस्नेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले दुईजनाको अपहरण गरी फिरौती रकम माग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।
घटनापछि फरार रहेका बस्नेतलाई खोजतलास गर्ने क्रममा धरानबाट उदयपुरतर्फ भाग्दै गर्दा बराहक्षेत्र–१ स्थित झण्डाचोकबाट सोमबार पक्राउ गरेको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले उनलाई पक्राउ गरेको हो ।
‘अपहरण गरी भारतमा बन्धक बनाएर ५० लाख फिरौती माग्ने, लिने र मुख्य योजना बनाएको पाइएको छ’, भने, ‘अनुसन्धानकै क्रममा रहेकोले थप विवरण खुल्नेछ ।’
गत वैशाख २५ गते सामान खरिदका लागि भारतको बजारमा गएको बेला भारतीय नागरिक इम्तियाजसँग मिलेर दुईजनालाई अपहरण गरी रकम फिरौतीको माग गरिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र ५ बस्ने १९ वर्षीय सौगात भण्डारी, सोही ठाउँका २२ वर्षीय छविलाल आचार्य, हरि आचार्य र सुनील गिरीसहित चारजना भारत गएका थिए ।
भण्डारी र आचार्यलाई सातजनाको समूहले पेस्तोल देखाएर मोटरसाइकल नियन्त्रणमा लिएर बन्धक बनाएका थिए । ‘पीडित भण्डारीका बाबुको मोबाइलमा वैशाख २६ गते भारतीय मोबाइल नम्बरबाट फोन गरी ५० लाख फिरौती रकम माग गरेको पाइएको छ’, उनले भने, ‘त्यतिबेलै पीडितका बाबुले एक लाख ५० हजार रकम समेत बुझाएको पाइएको छ ।
फिरौती रकम नदिए ज्यान मार्ने धम्की समेत दिइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । फिरौती माग गर्नेको चुँगुलबाट फुत्किएर पीडितहरू गत वैशाख २७ गते भागेर नेपाल आएका थिए ।
त्यसपछि उनीहरुले प्रहरीलाई जानकारी दिएका थिए । पक्राउ परेका बस्नेतमाथि जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।