गाउँलेको पैसा ठगेर भागेकी पूर्वजनप्रतिनिधि महिला भोजपुरबाट पक्राउ
सर्वसाधारण गाउँलेको रकम ठगी गरेर भागेकी एकजना पूर्वजनप्रतिनिधिलाई भोजपुरको दिंलाबाट प्रहरीले पक्राउ गरेको छ ।
षडानन्द नगरपालिका–८ की पूर्ववडा सदस्य कमला विश्वकर्मालाई भोजपुरको इलाका प्रहरी कार्यालय दिंलाका प्रहरी निरीक्षक अर्जुन पोखरेल नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
विश्वकर्मा २०७४ सालको स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् । आफैँलाई मत दिएर जिताएका जनतासँग रकम उठाउँदै ठगी गरेर भागेकी उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गतको मुद्दा चलाउन उच्च अदालत विराटनगरबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।
विश्वकर्माले आफू जनप्रतिनिधि भएका बेला झुक्याउँदै सर्वसाधारणसँग लाखौं रूपैयाँ असुलेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘विभिन्न व्यवहारिक समस्या देखाएर आफ्नै वडाका सर्वसाधारणसँग रकम असुलेर फरार बनेको पाइयो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘कतिपयलाई पैसा नभएको बैंक खाताको चेक काटेर दिएको पनि खुलेको छ ।
उनका अनुसार विश्वकर्माबाट ठगिएका सर्वसाधारणको संख्या धेरै छ । तर, तीमध्ये २ जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
पटक–पटक बैंकमा जाँदा पनि उनको खातामा नभएकाले पैसा निकाल्न नपाएको र गलत चेक लिएर आफूहरुलाई झुक्याइएको भन्दै पीडितले बैंकबाट ‘चेक बाउन्स’ गराएका थिए । पीडितले जिल्ला प्रहरी कार्यालय भोजपुरमा विश्वकर्माविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको हो ।