नातामा बहिनीज्वाइँ पर्नेलाई रकम केही समयभित्रै दिने शर्तमा विश्वासमा परी जग्गा नामसारी गरिदिएका उदयपुर बेलका नगरपालिकाका सुभाष भुजेल अहिले समस्यामा परेका छन् ।
वराहक्षेत्र नगरपालिका वडा नम्बर १ खारखोलाको १० धुर जग्गा नातामा बहिनीज्वाइँ पर्ने राजन घिमिरेलाई केही समयमा रकम दिने शर्तमा जग्गा नामसारी गरिदिएका थिए । बैनाबापत एक लाख ८० हजार रुपैयाँ प्राप्त गरेको भए पनि जग्गा पास गरेपछि पैसा दिने शर्तमा बेचेका उनी अहिले समस्यामा परेका हुन् ।
अहिले पैसा नपाएको भन्दै पैसा दिलाइदिनका लागि हारगुहार गरेका छन् । बेलका नगरपालिका–९ का स्थानीयवासी उनले ९ लाख ८० हजार रुपैयाँमा जग्गा बिक्री गरेका थिए । बाँकी रहेको ८ लाख रुपैयाँ दिन आलटाल गरिरहेको र उल्टै धम्की दिइरहेको उनले बताए ।
वराहक्षेत्र–१ घर भई हाल काठमाडौँ बस्दै आएका घिमिरेले आफू समस्यामा रहेका कारण खरिद गर्न नसक्ने कारण देखाउँदै मालिक सुन व्यवसायी तुलसा विश्वकर्माको नाममा जग्गा पास गरिदिएका थिए । उनले भने, ‘ज्वाइँले आफूसँग पैसा छैन, उहाँ (तुलसा) सुन व्यवसायी हुनुहुन्छ, उहाँको नाममा पास गरिदिनुस्, केही दिनमा पैसा पठाइदिहाल्नुहुन्छ भन्नुभयो । विश्वासमा परियो । अहिले आएर उल्टै जग्गा नामसारी भएपछि धाकधम्की दिँदै आइरहेको छ ।’
उनले गत पुस २४ गते धरानस्थित मालपोत कार्यालयमा ज्वाइँको विश्वासमा तुलसाको नाममा नामसारी गरिदिएको बताए । नामसारी गरेपछि बाँकी रहेको रकम पठाइदिने शर्तमा काठमाडौँ फर्किएको भए पनि हालसम्म रकम नदिएको उनले बताए । उनका अनुसार उल्टै तुलसाले जे गर्न सक्छौ गर भन्दै धम्क्याउने गरेको उनले बताए ।
ज्वाइँले आफूसँग पैसा नभएको भन्दै अर्काको नाममा पास गर्न लगाएर धोका दिएको बताए । उनका अनुसार काठमाडौँस्थित न्यूरोडको महोत्तरी सहकारीमा जग्गा राखी रकम निकालेर दिने भनेकोमा पटक–पटक ताकेता गर्दा पनि पैसा दिएनन् । तुलसा काठमाडौँको बानेश्वरमा बस्दै आएकी छन् । ज्वाइँ र तुलसालाई पटक–पटक फोन गर्दा फोन नउठाउने र उठाए पनि दिन्छु भन्न नछाड्ने गरेको उनले बताए । रकमको विषयमा कुरा गर्दा सहकारीको कर्मचारी बताउने शान्ता तिरुवालाई फोन दिने र उनले कहिले ग्लोबल आइएमई कहिले एनाईसी एसिया बैङ्कको खाता नम्बर पठाइदिनू भन्दै झुक्याउने गरेको उनले बताए ।
पीडित भनिएका सुभाषले मङ्गलबार १ नम्बर वडा कार्यालयमा गई जग्गाको चारकिल्लाको सिफारिसलगायत लिन आएमा रोक्का गरिदिन भन्दै निवेदन दिएका छन् । वडाध्यक्ष किसन थापा मगरले जग्गाको चारकिल्ला माग्न आएमा रोक्का गरिदिन भन्दै निवेदन दिएको बताए ।
ब्लाष्टकर्मीले पीडक भनिएकी तुलसालाई सम्पर्क गर्दा पैसा नदिने जसले जे मन लाग्छ, गर्दा हुन्छ भन्दै फोन काटेकी थिइन् । यता ज्वाइँ भनिने राजन घिमिरेलाई अध्यक्ष मगरले फोन गर्दा उनले पनि कानूनको सहारा लिँदा हुन्छ भनेर जवाफ फर्काएको वडाध्यक्ष थापाले बताए । पीडित भुजेलले आफूलाई जालसाजी गरी जग्गा पास गराएको भन्दै जग्गा फिर्ता गर्न वा रकम दिलाइदिन माग गरेका छन् । ब्लाष्ट