मोरङको धनपालथान-७ बोर्डिङटोलस्थित उखुबारीमा खाडल खनेर गाडेको अवस्थामा भेटिएका दुई जनामध्ये एक पुरूषको सनाखत भएको छ।
बिहीबार दिउँसो खाडलबाट निकालिए दुईमध्ये एक शव सुनसरीको धरान उपमहानगरपालिका-३ घर भई भक्तपुर बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुसार सिम कार्ड, पर्स र सवारी चालक अनुमतिपत्रका आधारमा उनको पहिचान भएको हो। शव गाडिएका स्थान बस्तीबाट ५ सय मिटर पर छन्।
त्यही उखुबारीस्थित ३० मिटर पूर्वतर्फ खाडलमै गाडेको अवस्थामा भेटिएका अर्का पुरुषको सनाखत भएको छैन।
उखुबारीभित्र सात फिट गहिरो खाडलमा गाडेको अवस्थामा दुवै शव भेटिएका हुन्। श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डोब पनि देखिएको प्रहरीले जनाएको छ।
शव गाडिएको उखुबारी स्थानीयबासी बरजंगी सिंहको रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठको शव निकालिएको ठाउँबाट ३० मिटर पूर्वतर्फ गंगाप्रसाद सिंहको उखुबारीमा पनि करिब ३५ वर्षीय अर्का पुरुषको पनि शव बुधबार राति भेटिएको थियो।
दुवै शव एकै शैलीमा खाडल खनेर गाडिएको अवस्थमा भेटिएको जिसीले बताए। सुरुमा उखु काट्ने क्रममा किसानले ताजा माटोसहितका दुई खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए।
दुवै खाडल खनेर हेर्दा कपडा लगाएकै अवस्थामा गाडेका शव भेटिएका हुन्। प्रहरीले दुवैको हत्यापछि गाडिएको हुन सक्ने निष्कर्ष निकालेको छ।
घटनास्थलमा संघीय प्रहरी कार्यालय विराटनगरबाट तालिमप्राप्त कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनास्थलमा मोरङ प्रहरी प्रमुख जिसी, डीएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का पनि जुटेर अनुसन्धान गरिरहेका छन्।