धनकुटा नगरपालिका–४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको लाश उनकै घरभित्र पुरिएको अवस्थामा फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएकी सीताको उनका पति सीतारामले हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी झगडापछि पत्नि बेपत्ता भएसँगै फरार रहेका सीतारामलाई ललितपुरबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरी प्रहरीले सोधपुछ गर्ने क्रममा हत्या गरी घरभित्रै गाडेको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
घरको भुईं तलाको जमिनमा खाल्डो खनेर गाडेको अवस्थामा लाश फेला परेको र त्यसलाई उत्खनन गरी झिकिएको प्रहरीले जनाएको छ । डेढ फिट गहिरो र लाश अटाउने गरी खाल्डोमा माटोले पुरेर त्यसमाथि बालुवा राखिएको स्थानबाट उत्खनन गरी केहि सडेको अवस्थामा शव फेला परेको हो ।
गत पुस २१ गते भदाहा अरुण श्रेष्ठले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए । खोजतलासको क्रममा घरभित्रै गाडिएको शव भने फेला पार्न प्रहरी चुकेको थियो । अनुसन्धानका लागि घटनास्थलमा परिचालन गरिएको कुकुरले समेत थाहा नपाएको प्रहरीको भनाइ छ ।
लाश पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने जनाइएको छ । अभियुक्त श्रेष्ठलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ ।